घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
दिप्शन गुरुङ
२०८१ माघ १२ | बिहान १०:१० बजे

गोरखा, माघ १२ । गोरखाको सहिद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गर्न सुरू गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै पुगेर उपलब्ध गराउन सुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
“वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दासँगै घरमै मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउन सुरू थालेको हो,” उहाँले भन्नुभयो, “अबदेखि मृत्यु दर्ताका लागि कोही वडा कार्यालयसम्म धाउनुपर्दैन ।”


















