अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा, यसै वर्ष सक्ने लक्ष्य

बागमती । सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाद्वारा सञ्चालित अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेका छन् । निर्धारित समयमै योजना सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको कामले तीव्रता पाएको हो ।
भवन निर्माणको काम सम्पन्न भइसकेको र रङरोगनको काम अन्तिम चरणमा पुगेकाले यही २०८१ चैत महिनासम्ममा सम्पन्न हुने सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर अधिकारीले बताए । उनका अनुसार संरक्षण, सेभ जेभी भरतपुरले भ्याटसहित रू पाँच करोड २६ लाख ८३ हजार तीन सय ५९ को लागतमा सो सभाहल निर्माणको काम गरिरहेको छ । त्यस्तै हेटौँडा उपमहानगरपालिका–१ स्थित हेटौँडा अस्पताल भवनको काम पनि तीव्र रूपमा भइरहेको छ । सहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अस्पताल भवनको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ । बिकोईरनवसिर्जनशील जेभी काठमाडौँले ठेक्का पाएको अस्पताल भवन निर्माणको काम चाँडौ सकिने गरी तीव्र रूपमा काम भइ रहेको जनाएको छ ।
भ्याटसहित कूल रू २६ करोड ६४ लाख २५ हजार दुई सय ८० को लागतमा निर्माण भइरहेको अस्पताल भवनको निर्माणको काम सम्पन्न गर्न २०८१ असार मसान्तसम्म समयावधी भए यही २०८१ फागुन महिनाभित्र सम्पन्न गर्ने अनुमान गरिएको प्रमुख इञ्जिनियर अधिकारीको भनाइ छ । अस्पतालले जग्गाको व्यवस्थापन नगर्दा अस्पताल भवन निर्माणमा केही ढिलाइ भएको हो ।
कार्यालयको बहुवर्षीय योजनाअन्तर्गत चितवनमा निर्माणाधीन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भवन र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको भवन चालु आर्थिक वर्षभित्रै सकिने गरी काम भइरहेको छ । दुवै कार्यालय भवनको गत २०८० चैत महिनामा सम्झौता भएको थियो । सम्झौता भए लगतैबाट निर्माण सुरू भएको ती कार्यालयको करिब ७० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख ई अधिकारीले बताए ।
चितवनको राप्ती ४ मा निर्माणाधीन इको टुरिजम पार्क, शिखर हरियाली को काम चालु आर्थिक वर्षभित्रै सकिने गरी काम तीव्र रूपमा अघि बढेको छ । कार्यालय प्रमुख ई अधिकारीका अनुसार टुरिजम पार्कभित्रका करिब ९५ प्रतिशत काम सकिएको र बाँकी काम तीव्र रूपमा भइरहेको छ । कूल रू सात करोड छ लाख ९६ हजारको लागतमा निर्माण भइरहेको पार्कको काम चालु आर्थिक वर्ष २०८१–८२ को असारसम्ममा सकिने लक्ष्य रहेको उनले बताए ।
त्यस्तै चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पताल मातृ शिशु भवनको काम चालु आवभित्रै सकिने गरी काम अघि बढेको छ । कूल रू नौ करोड ५८ लाख ८६ हजारमा ठेक्का सम्झौता भएको सो शिशु भवन निर्माण काम हालसम्म ९० प्रतिशत सम्पन्न भइसकेको सो कार्यालयले जनाएको छ ।
बहुवर्षीय योजनाका काममा विभिन्न केही कारणले बीचमा ढिलाइ भए पनि सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीसँग समन्वय भइहेको प्रमुख ई अधिकारीको कथन छ ।























