शर्माको निधनप्रति पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका पूर्वस्थायी कमिटी सदस्य रामजीप्रसाद शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उनले एक विज्ञप्ति जारी गरेर पार्टीका तत्कालीन स्थायी कमिटी सदस्य, गण्डकी प्रदेश कमिटीका अध्यक्ष तथा बागलुङ जिल्लाका वामपन्थी आन्दोलनका संस्थापक नेता कमरेड रामजीप्रसाद शर्माको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा अचानक दुःखद् निधन भएको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन्।
रामजीशर्मा नेपाली कम्युनिष्ट आन्दोलनको एउटा अथक र सृर्जनशील नेता हो । उनले आफू वर्ग सचेत भएको बेलादेखि नै देश, जनता, राष्ट्र, क्रान्ति, जनवाद र समाजवादका निम्ति निरन्तर काम गर्दै आएका थिए ।
उनले कम्युनिष्ट आन्दोलन, जनवादी आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन र समाजवादी आन्दोलनलाई नेपालमा अघि बढाउन कठिन र कठोर प्रयत्न गर्दै आएका थिए ।























