सिरहाबाट तस्करी रोक्न असफल, घुमुवा झा असुलीमा मस्त


बीरगंज ९ माघ । जिल्ला प्रहरी कार्यालय सिरहाले घुमुवा खटाई अबैध कारोबार तस्करीलाई प्रसय दिईरहेको समाचार प्राप्त भएको छ । सिरहाका प्रहरी उपरिक्षक रमेश पण्डित र प्रहरी नायब उपरिक्षक बिरेन्द्र पासवानका विश्वासपात्रका रुपमा रहेका प्रहरी हवलदार संतोष झालाई घुमुवाको रुपमा परिचालन गरि अबैध कारोबारलाई बढावा दिईरहेको समाचार स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका युनिटहरु र तस्करहरुबाट रकम असुलीकै लागि प्रहरी हवल्दार झालाई घुमुवाको रुपमा खटाईएको बताईन्छ । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी हवल्दार संतोष झाले जिल्ला मातहत पर्ने गोलबजार, ठाडी, माडर, कल्याणपुरका नाकाहरुबाट हुने गरेको अबैध कारोबारीहरुबाट मासिक रुपमा नाकामै पुगी रकम असुली गरिरहेको स्थानियहरुले बताएका छन् । जिल्लाको गोलबजारबाट कपडाका तस्करहरु बिजय, कल्याणपुरबाट मुशहरि, महोलीयाबाट अजाद, ठाडी नाका बाट पेस्टको व्यपारी पवन र सिरहाको माडर नाका बाट खसीबोकाको काम गर्ने सदाम लगायतलाई घुमुवा झाले मासिक रकम असुली लाईन दिएको एक व्यपारीले नाम नछाप्ने सर्तमा यस अनलाईनलाई बताए ।
शान्ति सुरक्षा र सूचना संकलनका लागि खटिने सादा पोसाकका प्रहरीले चोरी तस्करी तथा अबैध कारोबारलाई बढावा दिन थालेपछि चोरी तस्करी जस्ता आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् । आर्थिक प्रलोभनमा परि जिल्ला प्रहरी कार्यालय सिरहाका घुमुवा झा चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको समाचार स्रोतले जनाएको छ । घुमुवा झा बिगत २÷३ वर्ष देखि विभिन्न प्रहरी प्रमुखहरुको संरक्षणमा अडा जमाएर जिल्लामा घुमुवाको रुपमा कार्य गर्दै आएको बताईन्छ । सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् । सो क्षेत्रमा काम गर्ने दर्जनौ तस्करहरु संग मासिक १० हजार देखि ८० हजारसम्म असुली घुमुवा झाले तस्करीको लाईन सुचारु गराएको एक व्यपारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
सो नाका भएर भारतबाट लत्ताकपडा, हार्डवेयर, जुत्ता चप्पल, काजु, चिनी, पेस्ट, खसी लगायतका सामग्रीहरुको तस्करीको माध्यमबाट निर्वाध रुपमा आईरहेको समाचार स्रोतको दाबी रहेको छ । ती स्रोतका अनुसार तस्करी वापत घुमुवा झाले जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवम प्रहरी उपरीक्षक रमेश पण्डित र डिएसपी पासवानलाई राम्रै रकम बुझाउने गरेको बताईन्छ । यदि प्रहरी उपरीक्षक पण्डितले मासिक नजराना नबुझेको भए बिहान, बेलुकी र रातीको समयमा निर्वाध रुपमा तस्करी भईरहेको विभिन्न माध्यमले प्रहरी उपरीक्षकलाई जानकारी गराए पनि कुनै कारवाही नगरी मौन बस्नुले पनि उनको पनि संलग्नता रहेको प्रष्ट हुन्छ ती स्रोतको भनाई रहेको छ ।
यता मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यको निर्देशन विपरीत सिरहाका एसपी पण्डितले घुमुवा खटाएर तस्करी वापत रकम असुली गरी रहेको देखिन्छ । पटक–पटक डिआइजी आचार्यले अवैध कारोबार गर्न नदिनु भन्दा पनि एसपी पण्डितले अटेरी गर्दै तस्करहरुलाई सुरक्षित रुपमा तस्करी गर्न घुमुवा झा मार्फत अघोषित रुपमा सहयोग गरिहेको एक प्रहरी अधिकृतले नाम नछाप्ने शर्तमा बताए । यस तर्फ माथिल्लो निकायको ध्यान नपुग्दा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।























