समाजवादीसँगको एकता रोकिएपछि गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान फुट्यो


काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान विभाजन भएको छ।
एकीकृत समाजवादीसँग एकता गर्न सबै कुरा मिले पनि अन्तिम समयमा आएर होल्ड भएपछि एकता अभियानका बहुमत केन्द्रीय सदस्यले गौतमको साथ छाडेका हुन्। गौतमले माधव नेपाल नेतृत्वका समाजवादीभन्दा एमालेसँगको एकतालाई प्राथामिकतामा राखेपछि विभाजनमा पुगेको बताइएको छ।
आइतबार उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय समिति सदस्यले गौतमबाट अलगिएको घोषणा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत् गरेका हुन्।
अर्याल एकता अभियानका लुम्बिनी प्रदेश इन्चार्ज हुन्। त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले पनि गौतमलाई छाडेको घोषणा गरेका छन्।
गौतमले निशर्त एमालेमा फर्किनुपर्छ भन्ने मत राखेपछि आफूहरु असहमत भएको उनीहरुको भनाइ छ।
अर्याल नेतृत्वको विभाजित पक्षले माओवादी केन्द्रसँग एकताको पहिल गर्ने तयारी गरेको छ। त्यसका लागि चार सदस्यीय वार्ता टोली गठन गरिएका पत्रकार सम्मेलनमा जानकारी दिए।























