राजनीति

शान्ति र स्थायित्वका लागि माओवादी अपरिहार्यः अध्यक्ष दाहाल

नवलपुर टुडे
२०८१ माघ ५ | मध्यान्ह ०७:१० बजे

मोरङ । शान्ति र स्थायित्वका लागि माओवादी अपरिहार्य रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। मोरङको ग्रामथान गाउँपालिकाको तेतरियामा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति र स्थायित्वका लागि आफ्नो पार्टी अपरिहार्य रहेको बताएका हुन्।

उनले भने, ‘पर्यटन व्यवसायी, पत्रकार र स्थानीय तहको निर्वाचनले माओवादीको पक्षमा वातावरण बनाएको छ। दुई ठूला दल एकातर्फ र एकतिर माओवादी रहिरहँदासमेत जित हात पार्नुले सुखद् सन्देश दिएको छ। यसले पनि आउँदो निर्वाचनमा हामी ठूलो दल हुने छौँ।’ स्थानीय तहमा हाल १ सय २३ स्थानमा माओवादीले जित हासिल गरेको बताउँदै उनले भने, ‘अब आउने निर्वाचनमा हामी २ सय ५० र त्यसभन्दा बढी स्थानमा जित्ने छौ। त्यसले पनि हामी ठूलो दलमा आउने छौँ।’

२०६४ सालको निर्वाचनमा जनताको मत पाए पनि पार्टीलाई एकताबद्ध राख्न नसकेको अध्यक्ष दाहालले स्वीकार गरे।
वर्तमान सरकारका कारण मुलुक राजनीतिक दुर्घटनातर्फ अघि बढेको बताउँदै उनले दुई ठूला दलले आ–आफ्ना साथमा रहेका भ्रष्टाचारीलाई जोगाउन गठबन्धन सरकार बनाएको बताए।

उनले भने, ‘भुटानी शरणार्थी मुद्दामा फरार रहेकालाई पक्राउ गरी कारबाही सुरु गरेपछि एमाले र कांग्रेसबीच रातारात गठबन्धन बनेको हो। फरार रहेकालाई पक्राउ गरी कारबाही गरेपछि दुवै दलभित्र ठूलो भूकम्प गएको थियो। त्यसैले आफ्नो नातागोता बचाउन, जनतालाई समस्यामा पार्न दुवै दलले गठबन्धन गरेका हुन्। मेरो १८ महिनाको कार्यकाल अघि बढिरहँदा दलाल, विचौलिया, तस्कर र भूमाफियाहरुलाई सह्य नभएपछि गठबन्धन सरकार बनेको हो। यसले हामी चिन्तित छैनौँ।’

सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकारले चोरलाई चौतारो र साधुलाई सुली भन्ने उखानसँग मिल्ने गरी काम गरिरहेको आरोप लगाए। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विवादमा तानिएपछि आक्रोशित भएका अध्यक्ष दाहालले नोक्सानीमा गएको प्राधिकरणलाई ५० अर्ब बराबरको नाफामा पुर्‍याउँदासमेत दलालहरुलाई सह्य नभएपछि सरकारले लखेटिरहेको आरोप लगाए।

कमेन्टहरु