मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

पत्रकार महासंघ बाजुराका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

उमेश रोकाया
२०८१ माघ ४ | मध्यान्ह ०७:१० बजे

बाजुरा, माघ ०४ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । निर्वाचित भएको करिब एक महिना पछाडि शुक्रवार एक औपचारिक कार्यक्रमविच कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । सदरमुकाम मार्तडीमा आयोजित कार्यक्रमका बिच पत्रकार महासंघ बाजुराका पूर्व अध्यक्ष छक्क मल्ल नेतृत्वको कार्यसमितिले औपचारिक रुपमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ । मल्ल नेतृत्वको पूर्व कार्यसमितिले नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गर्दै स्वागत समेत गरेको छ ।

मंसिर २८ गते देशभर एकसाथ नेपाल पत्रकार महासंघको निर्वाचन भएको थियो भने जिल्ला शाखा बाजुरामा भने सर्वसम्मत नयाँ नेतृत्व चयन भएको थियो । जिल्ला शाखामा निर्वाचन सम्पन्न भएर पदभार ग्रहण गरेको एक महिनापछि कार्यसमितिलाई पद हस्तान्तरण गरिएको जनाएको छ । नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार महासंघ बाजुरा शाखाका पूर्व अध्यक्ष छक्क मल्लले सबैको आपसी सहयोग तथा समन्वयले आफ्‌नो कार्यकाल सरल र सफल रुपमा बितेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । मल्लले आफ्‌नो कार्यकालमा पत्रकार महासंघको हकहितका लागि केहि कार्यको सुरुवात र पहिलेका कामलाई निरन्तरता दिइएको भन्दै नयाँ नेतृत्वले सबैलाई समेटेर नयाँ कामको सुरुवात गर्नुपर्ने बताए ।

पत्रकार महासंघ जिल्ला शाखाका नवनिर्वाचित अध्यक्ष पदम बहादुर सिंहले आफ्‌नो कार्यकालमा पत्रकार तथा पत्रकारीता क्षेत्रको विकास र हकहितका लागि सदैव लागि रहने बताए। पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघ जिल्ला शाखा पूर्व सचिव तथा बडीमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा रहेकी थिइन् । त्यस्तै कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारी, पूर्वपदाधिकारी, विभिन्न संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्टहरु