राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए

चितवन, माघ ४ । राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् ।
गत आर्थिक वर्षमा एक सय पाँच वटा गोही प्राकृतिक बासस्थानमा छाडिएकामा चालु आवमा थप ४० वटा गोही छोड्ने योजना रहेको छ । यहाँ नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्किएपछि नदीमा छोड्ने गरिन्छ ।
हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार १८ गोही छाडिसकिएका छन् । हाल प्रजनन केन्द्रमा सात सय ३९ गोही रहेका छन् । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो ।
विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यसबेला देशभर एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिएको थियो । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको सूचना अधिकारी थापामगरले बताए । साथै बाढी आउँदासमेत गोही बगेर जाने गरेका छन् ।























