अपराध

रुपन्देहीमा रवि र छविविरुद्ध आज पूरक अभियोग दर्ता गर्ने तयारी

नवलपुर टुडे
२०८१ माघ ४ | बिहान ०५:१० बजे

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीविरुद्ध सरकारी वलिकको कार्यालयले शुक्रबार (आज) पूरक अभियोग दर्ता गर्ने तयारी छ। लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग शुक्रबार (आज) मात्रै अदालतमा लैजाने तयारी गरिएको छ। बिहीबार थप अभियोग लगिएकाले अरुको हकमा शुक्रबार (आज) मात्रै पूरक अभियोग लैजाने सरकारी वकिल कार्यालय प्रमुख प्रेमराज पौडेलले जानकारी दिए।

‘बिहीबार पहिल्यै मुद्दा गइसकेकाको हकमा कसुर र बिगो थप गरेर थप अभियोग अदालत लगेका छौँ। त्यसलाई रुजु गर्ने काम भइरहेको छ’,पौडेलले भने,‘बाँकीको हकमा पूरक अभियोग शुक्रबार (आज) मात्रै दर्ता हुन्छ।’ रवि लामिछाने र छविलाल जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दर्ता गर्ने सरकारी वकिलको तयारी छ। उनीहरु दुवै जनालाई ४ करोडमाथि बिगो कायम गरिने स्रोतले जनाएको छ।

यसअघि प्रहरीले अनुसन्धान सकेर एक साताअघि नै जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सरकारी वकिल कार्यालयले एकसाता अध्ययन गरेर अभियोग पत्र तयार गरेको हो। यसअघि लामिछाने र जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता भएको थियो। लामिछाने ६५ लाख र जोशी ८८ लाख धरौटीमा रिहा भएका थिए।

त्यसलगतै लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित भएर थुनछेक बहस सकिएको छ। तर, जोशी भने अझै अदालतमा उपस्थित भएका छैनन्। उनीहरूलाई कास्की प्रहरीले रिहा गर्दा आफै काठमाडौँ प्रहरी वा अदालतमा उपस्थित हुने शर्तमा रिहा गरेको थियो।

लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा ६० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ। उनी अदालतले माग गरेको धरौटी बुझाएर बिहीबार नै हिरासतमुक्त भइसकेका छन्। बुटवलमा अभियोग पत्र दायर भएपछि अदालतमा आफैं उपस्थित हुने उनको तयारी छ। त्यसपछि चितवनको साहारा चितवन र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि उनीहरु दुवै जनाविरुद्ध मुद्दा चलाउने तयारी छ। दुवै जिल्लाका प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका छन्।

सुप्रिम सहकारी ठगीमा १७ जनाविरुद्ध थप अभियोग दर्ता भएको छ भने गितेन्द्रबाबु राई (जिबी)सहित २८ जनाविरुद्ध यसअघि नै अभियोग दर्ता भए पनि यीमध्ये १७ जनाविरुद्ध कसुर र बिगो बढाएर थप अभियोग दर्ता गरिएको जनाइएको छ।

कमेन्टहरु