नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


काठमाडौँ । सर्वोच्च अदाललते नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्ष थुनामा रहेका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न आदेश दिएको छ। झाले बुधबार दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डको इजलासले कारण देखाउ आदेश जारी गरेको हो।
झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेको आरोप लागेको छ। गत असार १५ गते पक्राउ परेका झालाई भदौ २ गते जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
उक्त आदेश गैरकानुनी भएको दाबी गर्दै झा बन्दीप्रत्यक्षीकरणको निवदेन लिएर सर्वोच्च पुगेका हुन्। झामाथि संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा लागेको छ। उनले तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग भेट गराउने बिचौलिया भएको दाबी छ।























