कृषि

बाँकेमा वडा कार्यालयद्वारा च्याउ उत्पादन

नवलपुर टुडे
२०८१ पुस २९ | बिहान ०९:०९ बजे

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका- २, सीतापुरको वडा कार्यालयले च्याउ उत्पादन गरेर बिक्री गरेको छ  । सस्तोमा पाउँदा किसान हर्षित- २, सीतापुरको वडा कार्यालयले च्याउ उत्पादन गरेर बिक्री गरेको छ। वडा कार्यालय परिसरमै टनेल बनाएर च्याउ खेती गरिएको हो। तीन लाख ३० हजार रुपैयाँमा बनाइएको टनेल बाहिरबाट हेर्दा जति सुन्दर र आकर्षक देखिन्छ, भित्र अझै त्योभन्दा मनमोहक रुपमा उम्रिएका छन्,च्याउ। टनेलभित्र ५ सय ५० वटा प्लाष्टिकको पोकामा बाक्लिएर उम्रिएको कन्य च्याउ हेर्दा जो कोहीको मन लोभ्याउँछ।

‘गरे के हुँदैन र?’ भन्ने देखाउन वडा कार्यालय आफैले लगानी गरेर टनेलमा च्याउ खेती गरेको हो। वडा कार्यालयले नै राम्रो च्याउ खेती गरेर देखाएपछि स्थानीयवासी त्यसप्रति आकर्षित छन्। गत मंसिर १५ गते ६ दिन लगाएर राखिएको पोकामा अहिले बाक्लै च्याउ उम्रिएको छ। वडा कार्यालयले च्याउ उत्पादनसँगै बिक्री कार्यसमेत सुरु गरेको छ। बिक्री वडा कार्यालयबाटै गर्ने गरेको पाइन्छ। जसले गर्दा कार्यालयमा सेवा लिन आएकाहरूले पनि च्याउ किन्ने गर्दछन्। यसरी लिनेलाई कार्यालयले सस्तो मूल्यमा बिक्री गर्छ।

यहाँका स्थानीय बजारमा २ सय ८० रुपैयाँ किलो रहेको च्याउ वडा कार्यालयले एक सय २० रुपैयाँ किलोमा बेचिरहेको छ। वडाध्यक्ष धनबहादुर वलीले सस्तोमा दिएरका कारण फुटकरमै धमाधम च्याउ बिक्री भइरहेको बताएका छन्। आफूहरूले उत्पादन गर्दा स्थानीयले सस्तोमा च्याउ खान पाएकोमा वडाध्यक्ष वली हर्षित छन्।

एक पटक लगाएको च्याउ चार पटकसम्म टिप्न मिल्छ। एकपटकमा सात सय किलोसम्म च्याउ टिपेर बेच्न सकिने वडाध्यक्षको आँकलन रहेको छ। वलीले तीन लाख ३० हजार टनेलमा र ८० हजार रुपैयाँ बिऊ, प्लाष्टिक, प्राविधिकमा खर्च गरेको जानकारी दिँदै पहिलो लटमा जसरी राम्रो भएमा धेरैं फाइदा हुने बताउँछन्।

वडा कार्यालयले च्याउ उत्पादन गरेर आफूहरूलाई सस्तोमा खान पाउन व्यवस्था मिलाइदिएपछि स्थानीय हर्षित छन्। स्थानीय मानबहादुर वलीले गाउँमा जो कोहीले यसैलाई हेरेर च्याउ खेती गर्न सक्ने बताए। ‘यसले युवालाई उत्प्रेरित गरेको छ, उत्साहित बनाएको छ, वलीले भने, मेहनत गरे जे पनि हुन्छ। खाली लगनशील, दत्तचित्त भएर लाग्नुपर्छ। विदेशनै ताक्ने युवालाई घरमै बसेर केही गर्न सकिन्छ भन्ने यसले देखाएको छ।’

पराले च्याउ (कन्य) उत्पादन गर्न सुरुमा पराललाई टुक्रा-टुक्रा गरेर काट्नु पर्छ। त्यसपछि टनेल बाहिर प्लाष्टिकको इनारजस्तो गराएर धुने, ड्रममा राखेर उसिन्ने र त्रिपालमा राखेर चिस्यान बनाउने, त्यसपछि प्लाष्टिकको पोकामा खाद्ने र बिऊ राख्ने अनि मुख बाधेर झुण्ड्याउनु पर्छ। पोकामा प्वाल बनाइएको हुन्छ। त्यहीँबाट ढुसी भएर बाहिर निस्किन्छ, जुन हामीले खान मिल्ने च्याउ हो।

कमेन्टहरु