प्रहरी/सुरक्षा, मधेश प्रदेश, मुख्य समाचार
मधेश प्रदेशका डिआईजी आचार्यको नाममा घुमुवा पटेलको आतंक


वीरगंज २६ पौष। नेपाल प्रहरी मधेश प्रदेश कार्यालयको नाममा एक प्रहरी सहायक हवलदारले आतंक नै मच्चाएको समाचार प्राप्त भएको छ ।
नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) लालमणि आचार्यको सबै थोक हेर्ने म नै हुँ भनि प्रहरी सहायक हवलदार राजिव पटेलले व्यपारी, प्रहरी कार्यालय र सर्वसाधारणलाई आतंकित बनाई रहेको समाचार स्रोतले जनाएको छ ।
प्रहरी सहायक हवलदार पटेलको दरबन्दी सिरहा जिल्ला रहे पनि उनी बेला–बेलामा पर्सा, बारा, रौतहट लगायत मधेश प्रदेशकै जिल्लाहरुमा घुम्दै असुली धन्दामा जोडतोडका साथ लागि परेको प्रहरी स्रोतको दाबी रहेको छ ।
पटेलको दरबन्दी रहेको जिल्ला सिरहामा, उनी डियुटी नगरी मधेशका सबै जिल्लाहरुमा पुगी कहिले व्यपारी त कहिले प्रहरी युनिटहरुमा डिआईजी आचार्यको नामले धम्काई रकम असुली गरिरहेको जनाईएको छ । “म डिआईजीको घुमुवा हुँ, कुनै पनि तस्करीको लाईन चलाउनु छ भने मेरो अनुमति बिना चलाउन पाईदैन, पहिला मासिक कति दिनु हुन्छ फिक्स गर्नुस अनि मात्र काम गर्न पाईन्छ” भनि व्यपारीहरु सँग घुर्की लगाउदै मासिक लाखौ लाख असुली गरी तस्करीको लाईन दिने गरेको एक व्यपारीले नाम न छाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
त्यसैगरी प्रहरी युनिटहरुमा पुगी डिआईजीसाबको भाग मासिक रुपमा छुटयाउनु पर्ने भन्दै आएको समेत स्रोतको दाबी रहेको छ ।
हुनत डिआईजी आचार्य मधेश प्रदेशको प्रमुखको रुपमा जिम्मेवारी सम्हाले देखि केही मात्रामा तस्करी लगायतका अबैध कारोबारहरुमा कमी आए पनि सहायक हवलदार पटेलले डिआईजी आचार्यको नाममा तस्करी र अबैध कारोबारको लाईन सुचारु गराउन सफल हुदै आएको बताईन्छ ।
सहायक हवल्दार पटेल बिगत एक बर्ष आगाडी सप्तरी जिल्लाको जिल्ला प्रहरी कार्यालयबाट घुमुवाको रूपमा कार्यरत्त रहेका थिए । त्यहाँ कार्यरत्त रहँदा प्रहरीलाई निकै बदनामी गराएको भन्दै पटेललाई सिरहामा सरुवा गरिएको थियो । सिरहामा आए पछि केही समय डियुटी गरे पनि हाल माथिल्लो निकायको आर्शीवाद पाएर पुनः घुमुवाको रुपमा काम गरिरहेको जनाईएको छ ।
यस तर्फ डिआईजी आचार्य र प्रहरी संगठनको माथिल्लो निकायको ध्यान पुग्न आवश्यक रहेको सचेत नागरिकहरुको भनाई रहेको छ । यस सन्दर्भमा प्रहरी सहायक हवलदार राजिव पटेल सँग मोबाईल फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।























