चितवन महोत्सवमा काँचो केराका परिकार

चितवन,पुस २६ । तनहुँको देवघाटबाट आउनुभएकी लक्ष्मी तिमिल्सिना नारायणी नदीको किनारमा बनाइएका केराको चिप्स खाँदै हुनुहुन्थ्यो । उहाँले आलुको परिकार जस्तै केराको चिप्स नयाँ स्वादका रूपमा पहिलो पटक अनुभव गरेको सुनाउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनले बिहीबारदेखि सुरु गरेको १५औँ चितवन महोत्सवको उद्घाटन समारोहमा सहभागी हुन आउनुभएकी तिमिल्सिनाले आफूले केरा पकाएर खाने गरे पनि खाना र खाजाका रूपमा काँचो केरालाई प्रयोग नगरेकाले नयाँ स्वाद लागेको बताउनुभयो ।
दैनिक ३१ जना कर्मचारी राखेर महोत्सव अवलोकनकर्तालाई केराका परिकार चखाउँदै र सिकाउँदै आइएको सुवेदीले जानकारी दिनुभयो । जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा अहिले केराखेती हुँदै आएकामा ४३ हजार एक सय ९३ मेट्रिक टन उत्पादन हुन्छ । उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने जनाउँदै सङ्घका उपाध्यक्ष सुवेदीले पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केराखेती हुने गरेको बताउनुभयो । भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केराखेती गरिएको छ । केराको खपत बढाउन व्यवसायीले मेला महोत्सवहरूमा विभिन्न परिकार बनाउने गरेका छन् । पाकेको मात्रै होइन, काँचो केराको खपत बढाउन सके बजारको समस्या नहुने व्यवसायीको भनाइ छ ।


















