मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
मार्तडी देखि कोल्टीसम्म बस सेवा सञ्चालन


बाजुरा, पुष २६ । बाजुराको सदरमुकाम मार्तडी देखि बुढीनन्दाको कोल्टीसम्म बस सेवा सञ्चालन भएको छ । शुक्रवार एक औपचारिक कार्यक्रम उद्घाटन गर्दै मार्तडी–कोल्टी बस सेवा सञ्चालन गरिएको हो। नगरपालिका, जिल्ला प्रशासन लगायत सबैको लामो समयदेखिको पहल पछि आजबाट मार्तडी कोल्टी बस सेवा सञ्चालन गर्न सफल भइएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताए । बाजुराका उत्तरी भेगका पालिका सहित मुगु, हुम्ला र कालिकोटका नागरिकका लागि यातायातको सहज पहुँच पुर्याउन नितान्त आवश्यक रहेको भन्दै आजबाट सदरमुकाम मार्तडी देखि कोल्टीसम्म नियमित बस सेवा सञ्चालनमा आउने नगर प्रमुख बोहराले बताए । उनका अनुसार मार्तडी देखि कोल्टीसम्म प्रतिव्यक्तिको एकतर्फी भाडा पाँच सय रुपैयाँ कायम गरेर महाकाली यातायातका बस सञ्चालन गरिएका छन् ।
मार्तडी कोल्टी बस सेवा सञ्चालनमा आएसँगै जिल्लाको उत्तरी भेगका नागरिकलाई सदरमुकाम सहित महेन्द्रनगर, धनगढी लगायतका ठाउँसम्म आवतजावत गर्न ठुलो सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए । जिल्लाको मुख्य लाइफलाईनको रुपमा रहेको मार्तडी कोल्टी सडकमा बस सञ्चालनका लागि यसअघि पटकपटक पहल हुँदा पनि सञ्चालनमा आउन सकेको थिएन । बस सेवा सञ्चालनमा आएपछि लामो समयदेखि महंगो भाडा तिरेर मार्तडी कोल्टीसम्मको कष्टपूर्ण यात्रा गरि रहेका नागरिकहरुलाई राहत भएको बडीमालिका नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्यायले बताए। आजबाट भव्यताका साथ मार्तडी कोल्टी बस सेवा सञ्चालनमा आएपनि यसको निरन्तरताका लागि सबैले पहल गर्नुपर्ने स्थानीयहरुले बताएका छन् ।


















