तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड

डुम्रे (तनहुँ) । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका साथै ऊर्जाको विकासबाट देशलाई समृद्धिको पथमा अग्रसर गराउन सहज हुने बताएका छन्।
महोत्सवबाट स्थानीय उत्पादन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउँदै उनले भने, “देशको अर्थतन्त्र विकासमा तनहुँले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यहाँको सांस्कृतिक पहिचान पनि पर्यटन प्रवद्र्धनमा सहयोगी बनेको छ। यस्ता महोत्सवले मुलुकको बहुभाषिक, बहुसांस्कृतिक परिचयलाई स्थापित गरेको छ।”
तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले मेलाका माध्यमबाट किसानका उत्पादन बिक्री गर्न सहज हुने बताए। महोत्सवमा कृषि उपजलाई प्राथमिकता दिइएको उनको कथन थियो।
महोत्सवमा फलफूल, सागसब्जी, मह, मसला, दाल, चामललगायत कृषि उत्पादनका साथै स्थानीय हस्तकलाका सामग्रीयुक्त दुई सय बिक्रीकक्षमार्फत ती सामानको खरिदबिक्रीको व्यवस्था मिलाइएको छ। मेला आगामी माघ ७ गतेसम्म जारी रहनेछ।























