राजनीति

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्छु : परराष्ट्र सचिव राई

दिप्शन गुरुङ
२०८१ पुस २५ | बिहान ११:०९ बजे

काठमाडौं । कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औं परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । ‘हाम्रो देश चुनौती र अवरको दोसाँधमा छ । ती चुनौतीको सामना गर्दै अवसरलाई राष्ट्रको हितमा उपयोग गर्न निष्ठापूर्वक लाग्नेछु’, परराष्ट्र सचिवको कार्यभार सम्हालेपछि उनले बिहीबार बिहान भने । देशलाई समृद्धिको दिशामा अग्रसर गराउन आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि सचिव राईले व्यक्त गरे ।

सार्वजनिक सेवाको प्रारम्भिक वर्षमा सचिव राईले सन् २००३ देखि २००५ सम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सन् २००२ देखि २००३ सम्म सामान्य प्रशासन मन्त्रालयमा सेवा गरेका थिए । सन् १९९६ मा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा शाखा अधिकृतको रुपमा उनले निजामती सेवा प्रारम्भ गरेका हुन् ।

सन् १९७० मा संखुवासभाको चिचिला गाउँपालिकामा जन्मिएका परराष्ट्र सचिव राईले जर्मनीको पोट्सडाम विश्वविद्यालयबाट सार्वजनिक व्यवस्थापन र त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले उनलाई परराष्ट्र सचिवमा पदोन्नति गरेको हो । 

कमेन्टहरु