काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ, पुस २५ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ ।
गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका विरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो । काठेखोला–६ का किसान लोकनाथ कँडेलले यस वर्ष रु १२ लाख ५० हजारको सुन्तला बेचिसकेको जानकारी दिँदै रु एक लाखको बिक्री गर्न बाँकी रहेको बताउनुभयो । आफ्नो बगैँचामा तीन सय बोट सुन्तला रहेको र यस वर्ष दुई सय १० बोटले फल दिएको उनको भनाइ छ ।
“हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेका छन्, किसानले सुन्तला बगैँचा व्यवस्थापनमा पनि ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ”, कँडेलले भने, “मेरो बगैँचामा नयाँ ९० बोट सुन्तला छन्, अर्को वर्षदेखि फल दिन्छन्, सुन्तलाखेतीबाट आम्दानी राम्रो छ, पहिले कोदो मकै फल्ने ठाउँमा अहिले सुन्तला फलाउँछौँ ।”
किसान देवीलाल कँडेलले अघिल्लो वर्ष रु तीन लाखको सुन्तला बिक्री गरेको उल्लेख गर्दै अहिले रु चार लाखभन्दा बढीमा बिक्री भएको बताए । व्यापारी बगैँचामै आएर सुन्तला खरिद गर्ने भएकाले बजारीकरणको समस्या नभएको उनको भनाइ छ ।























