समाचार

कांग्रेसका उपसभापति गुरुङसँग सीआईबीले लियो दोस्रो पटक बयान

नवलपुर टुडे
२०८१ पुस २३ | मध्यान्ह ०६:०९ बजे

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे दोस्रो पटक बयान गराएको छ । गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर सोधपुछ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । सीआईबीमा गुरुङले करिब ५ घण्टा बयान दिएका हुन् । यसअघि कार्तिक २८ मा प्रहरीले उनलाई ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको घटनामा सोधपुछ गरेको थियो ।

सहकारीका सञ्चालक ज्योति गुरुङसहित ५ जना विरुद्ध जाहेरी परेको छ । ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूको बिचमा  २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको भेटिएको छ ।

प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको छ । अनुसन्धान अधिकृतहरूसँग गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको बताएका छन् । उनले भनेका छन्, ‘मितेरी सहकारीले मेरो घर र इज्जत सबै खाइदियो ।’ धनराजले मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताएका छन् । उनकी पत्नी गुरुङ र अर्का आरोपी ज्योति भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन गरेको भेटिएको छ ।

कमेन्टहरु