समाचार

तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपंक्षी गणना सुरु

दिप्शन गुरुङ
२०८१ पुस २२ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं । हरेक हिउँदमा उत्तरीध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपंक्षी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् ।

यतिखेर मुलुकका विभिन्न नदी, ताल, तलैया, सिमसार क्षेत्रमा जाडो छल्न तथा आहाराको खोजीमा आइपुगेका आगन्तुक चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं संख्या अद्यावधिक गर्न जलपंक्षीको गणना सुरु गरिएको छ । नेपाल पंक्षीविद् सङ्घले गणनामा समन्वय गरिरहेको छ । सो संस्थाका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्यालले देशभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन गणना सुरु गरिएको बताए।

हरेक वर्ष जनवरीको पहिलो शनिबारदेखि जलपंक्षी गणना सुरु गर्ने गरिएको छ । यस वर्षको गणना जनवरी ४ देखि १९ सम्म (पुस २० गतेबाट माघ ६ गते सम्म) सञ्चालन हुनेछ । कार्यकारी निर्देशक पौड्यालले भने, ‘यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन गरिने छ । यतिखेर खोलानालामा आगन्तुक चराको आगमन र गतिविधिले छुट्टै माहोल बनेको छ ।’

गणनामा हिमाली प्रकृति, वर्ड कन्जरभेसन नेपाललगायत स्थानीय सङ्घसंस्था, चरा संरक्षणकर्मी तथा सम्बन्धित सरकारी अधिकारीहरुको सहभागिता छ । सन् १९८७ देखि हरेक वर्ष जनवरी ४ देखि दुई हप्तासम्म जलपंक्षी गणना गर्ने गरिएको । सिमसारको संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरनेसनल’ ले विश्वव्यापीरूपमा यसको नेतृत्व गर्छ ।

सन् २०२४ मा गरिएको जलपंक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ८४ साना क्षेत्रमा चार सय दुई स्वयमसेवकले ७९ प्रजातिका ६३ हजार नौ सय जलपंक्षी रेकर्ड गरेको सङ्घको तथ्याङ्क छ । यीमध्ये छवटा रामसारमा सूचीकृत सिमसार क्षेत्र पनि थिए । वर्ड कन्जरभेसन नेपालका पश्चिम क्षेत्र परियोजना फिल्ड अधिकृत हिरुलाल डंगौराले गणनाका क्रममा आफूले जलवायु परिवर्तनको असर, सिमसारमा आएको परिवर्तन, सिकार गर्ने प्रवृति, वासस्थानको विनासलगायतका समस्या देखेको बताए । यसबाहेक पछिल्लो समय चरा संरक्षणमा नागरिकमा सचेतना जागेको विषय सकारात्मक भएको आफूले पाएको उनले उल्लेख गरे । उनका अनुसार विगतको तुलनामा चराको प्रजातिमा कमी नदेखिए पनि संख्यामा भने कमी आएको छ ।

‘मुलुकमा अभिलेख भएका आठ सय ९७ प्रजातिका चरामध्ये दुई सय हाराहारी जलपंक्षी छन्, परियोजना फिल्ड अधिकृत डंगौराले भने, ‘बराइँसराइ गरेर आउने चरामा यसपटक कैले टाउने हाँस, मालक हाँस, मरुल हाँस नयाँ चरा रेकर्ड भएका छन् ।’ जाडो छल्न आउने हिउँदे आगन्तुक चराले प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पोखराका ताल, बीसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा समय बिताउँछन् ।

कोशी पंक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाले कोशीका विभिन्न नदी तालतलैयामा शनिबार र आइतबार गरिएको जलपंक्षी गणनामा चराको संख्या अपेक्षित नै देखिएको जानकारी दिए । यद्यपि कतिपय स्थानमा सिमसार क्षेत्रको सङ्कुचन, जलकुम्भी र मिचाहा प्रजातिको वृद्धि, अनियन्त्रित माछा मार्नेलगायतका गतिविधिका कारण चरा आहारामा चुनौती देखिएको उनको भनाइ छ । ‘यस क्षेत्रका केही ताल र सिमसार क्षेत्रमा आवश्यकभन्दा जलकुम्भी देखिएको छ, यसले पंक्षीलाई आहारा खान कठिनाइ हुन्छ’, उनले भने ।

पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवद्र्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोज जस्ता पर्यावरण प्रतिकूलता समेत थपिएका अध्यक्ष तिम्सिनाको भनाइ छ । सन् १९८७ देखि नेपालमा पनि नियमितरूपमा हुँदै आएको जलपंक्षी गणनाको मुख्य उद्देश्य पानीमा आश्रित बसाइँसराइ गर्ने र पानीमा र यस वरिपरि बस्ने चराको संख्या र वितरणबारेमा जानकारी सङ्कलन गर्नु हो । यसबाट हामी सिमसार क्षेत्रको अवस्था, जलपंक्षछीको प्रजनन अवस्था र जलवायु परिवर्तनको असरबारे समेत जानकारी पाउन सकिने यस क्षेत्रका जानकारहरुको भनाइ छ ।

कमेन्टहरु