माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ

बरहथवा (सर्लाही), पुस २१ । माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ । पुसको दोस्रो हप्ता लागिसक्दा सङ्क्रान्तिका लागि तरुल निकाल्ने चटारो बढेको बागमती नगरपालिका–५ टेकानीका तरुल किसान दलबहादुर लुङ्गेलीले बताउनुभयो । लुङ्गेलीले बागमती खोला बगरमा पाँच कट्ठा खेतमा तरुल लगाउनुभएको छ ।
तरुलखेती गर्नुभएका बागमती नगरपालिका–४, जिराएतका किसान विमल खड्काले तरुलको उत्पादन राम्रो हुँदा अन्यबालीभन्दा धेरै आम्दानी हुने गरेको बताउनुभयो । आफ्नो र ठेक्का गरेर खड्काले पनि एक बिघा बगर खेतमा तरुल लगाउनुभएको छ । केहीमा तरुल उत्पादन राम्रो भएको र केहीमा बिग्रिएको उहाँको भनाइ थियो ।
यहाँका किसानहरूले आकासे र पताले गरी दुई जातको तरुल उत्पादन गर्ने गरेका छन् । आकासे अर्थात् सेतो तरुल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४ जिरायतका तरुल व्यापारी राम दरेस महतोले बताउनुभयो । अर्को पताले अर्थात् रातो जातको तरुल भने उत्पादन केही कम हुने खान पनि स्वादिलो हुने भएकाले मूल्यसमेत राम्रो रहेको उहाँको भनाइ छ ।
यहाँका किसानले प्रतिबिघा ८० देखि एक सय २० क्विन्टलसम्म तरुल फलाउने गरेका छन् । यस वर्ष छठको समयमा तरुल प्रतिकिलो एक सय २० रुपैयाँसम्ममा बिक्री भएको थियो । अहिले बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपैयाँ रहेको तरुल व्यापारी डम्बरबहादुर खड्काको भनाइ छ । यस वर्ष उहाँ २० बिघामा लगाएको तरुल बजार लैजाने योजनामा हुनुहुन्छ ।
उहाँले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरुल लगाउनुभएको छ । जग्गा भाडामा लिदा वर्षको प्रतिबिगाहा ५० देखि ६० हजार रुपैयाँसम्म तिर्नुपर्ने उहाँको भनाइ छ । तरुल खेती गर्दा प्रतिकठ्ठा बीउ, मलखाद, कामदार गरी रु आठ हजारसम्म खर्च हुने गर्दछ । उहाँका अनुसार तरुल खेतीबाट किसानहरूले प्रतिकट्ठा रु ३० देखि ४० हजारसम्म आम्दानी गर्दछ ।
बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि लगभग तीन सय बिगाहा क्षेत्रफलमा तरुलखेती हुँदै आएको छ । सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरुल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिकहरू बताउँछन् । बागमती नदी उकास जग्गा तरुल उत्पादनका लागि निकै उपयोगी बनेको छ ।
केही समयअघिसम्म यसैखेर गइरहेको बगरखेतीमा यतिबेला किसानले सुन फलाइरहेका बागमती नगरपालिका कृषि शाखा प्राविधिक हिमाल शाहीले बताउनुभयो । खोलाको बगर स्थानीय किसानले प्रतिपरिवार पाँच कट्ठाको दरले भाग लगाएर केही समय ता खेती गर्दै आएका छन् । बगरमा किसानले तरुलसहित मुम्फली, सखरखण्ड, तोरी, मकै, रहरी, परबर, बोडीलगायतको खेती गर्ने गरेका छन् । खेती राम्रो हुने गरेकाले स्थानीयको आयस्तरमा समेत परिवर्तन ल्याएको नगरपालिकाले जनाएको छ ।























