देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादी आतङ्कित भए: प्रधानमन्त्री

काठमाडौँ, पुस २१ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका बताउनुभएको छ ।
पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर खुसी मनाउ गर्नेहरु पश्चाताप गरिरहेका टिप्पणी गर्नुभयो ।
बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ राजनीतिक मार्गचित्र, एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, वर्तमान गठनबन्धनपछिका छ महिना, बदलिँदो विश्व परिवेश र मुलुकको पराराष्ट्र नीति, स्थानीय तह उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माणलाई समेट्नुभएको छ ।
नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रियहितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथिति अन्त्यगरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय गरिएको र विकास–निर्माणले गति लिएको मुख्य जानकारी गराउनुभयो ।
बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको सङ्क्षिप्त जानकारी, गत वैशाखमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछिका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णयहरुबारे जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरुको सम्बोधन र समसामयिक विषयमा महासचिव शङ्कर पोखरेलले बैठकमा जानकारी गराउनुभएको थियो ।
बैठकले पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको ‘बहस नोट कमिटी’ तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरेको छ ।























