‘फ्लूबाट दीर्घरोगी र ज्येष्ठ नागरिक बढी जोखिममा’

काठमाडौँ । जाडो देखिएसँगै धेरै जनामा इन्फ्लुएञ्जा (फ्लू) को सङ्क्रमणको जोखिम बढ्छ । यो इन्फ्लुएञ्जा भाइरसले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसबाट सबै उमेरका व्यक्ति जोखिममा हुन सक्छ ।
विज्ञका अनुसार फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा यो भाइरस सर्न सक्दछ । ती छिटा श्वासबाट फोक्सोमा पनि जाने र भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ ।
फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, प्रशस्त तरल पदार्थ र पौष्टिक खानाको सेवन गर्नेलगायत सुझाव चिकित्सकले दिए ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिकलाई बढी जटिल बनाउनसक्ने भएकाले सजग र स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्छ । “जोखिम समूहका व्यक्तिले चिकित्सकसँग परामर्श लिएर औषधि लिनुपर्ने हुन्छ । फ्लूविरुद्ध खोप पनि उपलब्ध छ । खोप लगाएमा यसले थप जटिल हुन अवस्थाबाट धेरै हदसम्म कम गराउँछ”, डा पुनले भने ।























