सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था

सोलुखुम्बु । चिसो बढ्दै गएपछि प्रहरीले सोलुखुम्बुको सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार सोमबार बिहानदेखि सल्लेरीका विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाइएको हो ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार, चिसोको जोखिमबाट बालबालिका, वृद्धवृद्धा तथा कमजोर वर्गका नागरिकलाई जोगाउन र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न यो प्रयास गरिएको हो । उनले भने, “यो समयमा चिसो बढ्दो छ, चिसोका कारण यहाँका नागरिकलाई धेरै गाह्रो भइरहेको छ । त्यसैले चिसोबाट जोगिन सांकेतिक रूपमा भए पनि हामीले यो कार्यको थालनी गरेका हौँ । चिसोका कारण जिल्लावासीको दैनिकी नै निकै कष्टकर हुँदै गएको महसुस गरेर आगो ताप्ने व्यवस्था मिलाएका हौँ ।”
आगो ताप्ने स्थान सुरक्षित र सहज हुने गरी व्यवस्थापन गरिएकाले चिसोबाट प्रभावित नागरिकलाई प्रत्यक्ष रूपमा लाभ मिल्ने जनाइएको छ ।























