स्वास्थ्य

ज्ञानोदय माविमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ८३ जनाको निःशुल्क स्वास्थ्य परिक्षण  

नवलपुर टुडे
२०८१ पुस १२ | बिहान ०७:०९ बजे
कावासोती । कावासोती–८ मा रहेको ज्ञानोदय माविको ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको असवरमा आयोजित स्वास्थ्य शिविरमा ४ सय ८३ जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । चितवनमा रहेको भरतपुर सामुदायिक हस्पिटल र टाईम फर्मासिटिकलसको सहकार्यमा विद्यालयको प्राङ्गणमा गरिएको शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, परामर्श र  आवश्यक औषधि वितरण गरिएको थियो ।  
 

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले नवलपुरको कावासोतीमा ज्ञानोदय माविसंगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको अस्पतालका कार्यकारी अधिकृत रघुनाथ सापकोटाले जानकारी दिनुभयो। शिविरमा भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा. डा. सुनिलमणि पोखरेल, पेट–छाती–मधुमेह–थाइराइड रोग विशेषज्ञ डा. महेन्द्र अग्रहरी, बालरोग विशेषज्ञ डा. खेमराज पौडेल, वरिष्ठ दाँत, मुख तथा अनुहार सर्जन डा. कृष्ण रेग्मी, हाडजोर्नी रोग विशेषज्ञ डा. केशबमणि गौतम लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा दिनुभएको थियो।

वरिष्ठ दाँत, मुख तथा अनुहार सल्यचिकित्सक डा। कृष्ण रेग्मीका अनुसार, ९६ जना बिरामीको मुख तथा दाँतसम्बन्धी परीक्षण गरिएका थिए। तीमध्ये सतप्रतिशत बिरामीमा गिजाको समस्या, ९० प्रतिशतमा किराले खाने समस्या, २० प्रतिशतमा मुख गनाउने समस्या, र १५ प्रतिशत बिरामीमा दाँत खिइने समस्या देखिएको जानकारी दिनुभयो । साथै, परीक्षणका क्रममा एक जना बिरामीमा मुखको क्यान्सर भएको हुन सक्ने अनुमान गरिएको छ। बिरामीलाई थप उपचारका लागि तुरुन्तै रेफर गरिएको छ। त्यसैगरी, दुई जना बिरामीको अनुहारको अनुपात नमिलेकोले सर्जरी आवश्यक देखिएको र एक जनाको नाक बाङ्गो भएकोले सर्जरीमार्फत सुधार गर्नुपर्ने सुझाव डा. रेग्मीले दिनुभएको छ।

शिविरमा नर्सिङ स्टाफहरू रजिना थापा, सस्मिता बोगटी, बबिता मण्डल, र रिना गुरुङलगायतको टोलीले बिरामीहरूको पञ्जीकरणदेखि स्वास्थ्य परीक्षण र औषधि वितरणको कार्यमा सहयोग पुर्‍याएका थिए। विविध चिकित्सा विशेषज्ञहरूबाट सेवा प्राप्त गर्न पाउँदा बिरामीहरू र स्थानीयहरू उत्साहित देखिएका थिए। अस्पतालले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यस प्रकारका शिविर नियमित रूपमा सञ्चालन गर्दै आएको छ। दुर्गम र स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित स्थानमा विशेषज्ञ सेवा पुर्‍याउन पाउँदा आफूहरूलाई खुशी लागेको र आगामी दिनमा समेत निरन्तरता दिने अधिकृत सापकोटाले बताउनुभयो। शिविरमा सहभागी भएका चिकित्सकहरूले ग्रामीण भेगका बिरामीको स्वास्थ्य समस्या बुझ्न सक्ने अवसर पाएको र आवश्यकताअनुसार सल्लाह तथा उपचारका योजना बनाउन सकेको जनाएका छन्।

ज्ञानोदय माविका प्रधानाध्यापक चेत प्रसाद अधिकारीले शिविरमा स्वयमसेवक रूपमा निशुल्क उपचार सेवा गर्नुभएका विशेषज्ञ चिकित्सकहरु, अस्पताल प्रशासन, स्वास्थ्यकर्मीहरुलाई कदर पत्र प्रदान गर्नुभएको थियो । प्रअ अधिकारीले नेपालमै अत्यधिक व्यस्त, वरिष्ठ चिकित्सकहरु यसरी गाउंमा आएर औषधी सहित निशुल्क सेवा प्रदान गरिएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य र सहयोगको अपेक्षा राख्नुभएको थियो ।

कमेन्टहरु