रेसुङ्गाको १४ नम्बर वडा टुक्राउने प्रस्ताव नगरसभाबाट पारित


गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजार रहेको रेसुङ्गा नगरपालिकाले वडा नम्बर–१४ लाई टुक्राउने निर्णय गरेको छ । १६ औं नगरसभाले मानव संसाधन तथा सुशासन समितिका संयोजक हुमबहादुर बस्नेतले प्रस्तुत गरेको वडा विभाजन गरी २ वटा बनाउने प्रस्ताव पारित गरेको हो ।
नगर प्रमुख खिलध्वज पन्थीले भौगोलिक रूपमा पछाडि परेको वडा नम्बर–१४ लाई विभाजन गर्ने प्रस्ताव पारित गरिएको जानकारी दिए । ‘वडा नम्बर १४ साविकको पराल्मी गाविस हो,’ मेयर पन्थीले भने, ‘पराल्मी र रातामाटा छुटिने गरी अब वडा बन्ने छन् ।
एउटा ठाउँबाट वडामा सिफारिस लिन ३ घण्टा हिँड्नुपर्ने अवस्था छ । त्यहीं भएर विभाजन गर्ने निर्णय गरेका हौं ।’ नगरसभाको निर्णय अब प्रदेशमा पठाउने उनले बताए । प्रदेशले वडा विभाजनको सिफारिस संघीय सरकार समक्ष पठाउने र संघले निर्णय लिने उनले जानकारी दिए । यो वडा गुल्मी क्षेत्र नम्बर १ मा पर्दछ ।























