उनका अनुसार सोमबारबाट भित्रिएको प्रणाली यस वर्षको हिउँदेयामको पहिलो वर्षा प्रणाली हो। यस वर्ष हिउँदमा अर्को वर्षा प्रणाली पनि भित्रन सक्ने सम्भावना रहेको उनको भनाइ छ। सोमबारदेखि भित्रिएको प्रणालीको असर सुदूरपश्चिम तथा पश्चिमी क्षेत्रमा देखिने, पूर्वीक्षेत्रमा त्यसको प्रभाव कम देखिने मौसमविद्हरूको भनाइ छ। ‘हिउँदे वर्षा प्रणाली सोमबार साँझदेखि भित्रिइसकेको छ। सोमबार साँझदेखि नै यसको प्रभाव क्रमिक रूपमा देशभर देखिन थाल्छ’, मौसमविद् लामिछानेले भने।
पोहर साल हिउँदमा हिउँदे वर्षा खासै भएन। सुदूरपश्चिम तथा पश्चिम क्षेत्रमा फाट्टफुट्ट वर्षा भए पनि उपत्यका तथा पूर्वीक्षेत्रमा हिउँदे वर्षा देखिएन। यस वर्ष भने वर्षायाममा देशभर पोहोरभन्दा बढी वर्षा भएको थियो। काठमाडौँलगायत केही ठाउँमा रेकर्ड नै ब्रेक भएको थियो।
जल तथा मौसम विज्ञान विभागले सोमबार साँझ निकालेको मौसमसम्बन्धी बुलेटिनअनुसार मंगलबार सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार मंगलबार सुदूर पश्चिम क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा भने साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यसैगरी तराई क्षेत्रमा साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। विभागका अनुसार मंगलबार मधेस प्रदेशमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
यसैगरी बागमती प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। विभागका अनुसार मंगलबार लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। हिउँदयाम सुरु भएसँगै क्रमिक रूपमा काठमाडौँलगायत देशभर चिसो बढ्दै गएको छ। केही दिनदेखि देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएको छ। चिसो बढेसँगै प्रदूषणको पनि जोखिम देखिएको छ।
प्रदूषणको हिसाबमा वर्षा यामभन्दा हिउँद तुलनात्मक रूपमा जोखिमपूर्ण मानिन्छ। हिउँदयाम अर्थात् चिसोमा प्रदूषणको मात्रा बढ्छ, जुन मानव स्वास्थ्यका लागि खतरनाक हुने विज्ञहरू बताउँछन्। यस वर्षको हिउँदमा काठमाडौँलगायत देशभर अघिल्लो सालको जस्तै चिसो बढ्ने मौसमविद्हरूको भनाइ छ।

























