एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी

प्रहरी चौकीसहित तत्कालीन समयमा ध्वस्त बनाइएको गाविसको भवन अहिले पालिकाका रुपमा स्थापना भए पनि नेपाल विद्युत् प्राधिकरण र कृषि विकास सेवा केन्द्र भने अझै अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भइरहेको म्यागङका अध्यक्ष आशा तामाङले गुनासो गरिन् ।
म्यागङ–३ स्थित देउरालीमा पुनर्निर्माण गरिएको प्रहरी चौकीको भवन विसं २०७८ चैतमा सम्झौता गरेर दुई चरणमा निर्माण पूरा गरिएको प्रदेश प्रहरी कार्यालयका भौतिक पूर्वाधार शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक इन्जििनियर शम्भुप्रसाद कोइरीले जानकारी दिए । उक्त भवन निर्माणमा रु एक करोड ४० लाख खर्च भएको छ । प्रहरी चौकीमा इलाका प्रहरी कार्यालयको स्तरोन्नतीको लक्ष्यसहित आवश्यक भौतिक संरचनाको पुनर्निर्माण गरिएको छ ।
यसैबिच म्यागङ गाँउपालिकाको भवन निर्माण गरिएको छ । नयाँ भवन रु सात करोड ३६ लाखको लागतमा बनाइएको पालिका उपाध्यक्ष सीता तामाङले बताइन् । राज्य पुनःसंरचना पश्चात विभिन्न पाच वडा मिलेर बनेको सो गाँउपालिकाले साविकको देउराली गाविसको भवनबाट सेवा दिँदै आएकामा म्यागङ–३ स्थित मानेब्लेमा सुविधा सम्पन्न बहुविपद् प्रतिरोधी नयाँ भवन सञ्चालनमा ल्याइएको हो ।
नयाँ भवन निर्माणका लागि विसं २०७८ साउनमा भएको सम्झौताअनुसार दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने भवन आर्थिक व्यवस्थापनमा देखिएको कठिनाइले ढिलो सम्पन्न भएको हो । नवनिर्मित भवनमा पालिकाले दिने सेवाका लागि आवश्यक सम्पूर्ण संरचना समावेश गरिएको छ ।























