म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन् । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए। सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनले बताए।
उनका अनुसार ६२ घरधुरीको बसोबास रहेको राखुका सबैले सुन्तलाखेतीलाई व्यावसायिक बनाएका छन् । यहाँका अगुवा किसान रामबहादुर घर्तीले रु सात लाख ५० हजार, जीतबहादुर आलेले रु सात लाखमा आफ्नो बगैँचाको सुन्तला ठेक्कामा बिक्री गरिसकेका छन्। जिल्लाको राखु, मरेक, बास्कुना, सुर्केमेला, बरङ्गजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना, नारच्याङलगायतका क्षेत्रमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।
बेनी –४ बास्कुना गाउँमा मात्रै यस वर्ष सुन्तला बिक्रीबाट रु एक करोड भित्रिएको छ । यहाँका १६ घरधुरीले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । अगुवा किसान रहेका वडासदस्य सन्दीप खत्रीले गत वर्ष बास्कुनाबाट रु ८० लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन बढेको कारण किसानको आम्दानी बढेको बताए ।
जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढलगायतका बजारमा निकासी हुने थालेको छ । गत वर्षको तुलनामा डेढ गुणाले सुन्तलाको उत्पादन बढेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
जिल्लामा यस वर्ष सुन्तला उत्पादन बढेको र क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरी विवरण सङ्कलन भइरहेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए । म्याग्दीमा आठ सय १० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएकोमा चार सय २० हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । गत वर्ष जिल्लाबाट तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।























