विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छ
दिप्शन गुरुङ
२०८१ पुस ४ | बिहान ०७:०९ बजे

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गरिएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदनमाथि छलफल गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको अध्यक्षतामा गठन गरिएको कार्यदलले सरकारलाई विभिन्न बुँदामा सुझाव दिएको छ ।
कार्यदलले गन्तव्य मुलुकको कूटनीतिक नियोग र दूतावासले खेल्नुपर्ने भूमिका, नीति तथा कानुनी व्यवस्थामा गर्नुपर्ने संशोधन र सङ्घीय संरचनामा स्वास्थ्य परीक्षणको कामलाई व्यवस्था गर्नेलगायत सम्बन्धमा बुँदासहित सरकारलाई सुझाव दिएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कार्यदलले दिएका सुझावलाई तत्काल र दीर्घकालीन गरी दुई खण्डमा छुट्याएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा भएका विकृतिलाई समाधान गरिने बताए ।
कार्यदलका अध्यक्ष अतिरिक्त सचिव डा सिंहले स्वास्थ्य संस्थाको अनुगमन, विदेशबाट फर्किएका नागरिक तथा वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान लगायतसँग समूहगत छलफल गरी प्रतिवेदन तयार गरिएको बताए । सरकारले गत भदौ १३ गते डा सिंहको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । कार्यदलमा विभिन्न क्षेत्रका विशेषज्ञ गरी ३० जना रहेका थिए ।

















