इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री

मुग्लिन (चितवन) । यहाँको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले पहँेलपुर छन् । सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुगेका छन् ।
इच्छाकामना गाउँपालिका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीले यहाँका सुन्तला स्वादिष्ट हुने हुँदा बजारको समस्या नरहेको बताउनुभयो । उहाँका अनुसार इच्छाकामना–१ को भाराङ, वडा नं २ कोे तल्लो काउले, वडा नं ३ को तोक्दाङ ढाप, माझगाउँ, सिरानगाउँ, तल्लो डुडे, माथिल्लो डुडे, वडा नं ५ को तामिन, ठङरङ, नेपेडाँडा, र वडा नं ६ को ढालामा सुन्तलाखेती हुँदै आएको छ ।
यहाँ उत्पादित सुन्तला मुग्लिन, कुरिनटार, फिस्लिङ लगायतका बजारमा बिक्रीका लागि लगिन्छ । फिस्लिङको तरकारी तथा फलफूल बिक्री केन्द्रबाट होलसेल मूल्यमा नारायणगढ, काठमाडौँ, पोखरालगायत विभिन्न सहरमा सुन्तला लैजाने गरिन्छ ।
गाउँपालिकाको कृषि शाखाका अनुसार इच्छाकामना गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हँुदै आएको छ । आगामी आर्थिक वर्षमा १५ देखि २० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्ने गाउँपालिकाको योजना छ । किसानलाई गाउँपालिकाले अनुदानमा बेर्ना उपलब्ध गराउने योजना रहेको कृषि प्राविधिक त्रिपाठीले जानकारी दिनुभयो ।
गत वर्ष इच्छाकामनाका किसानले सुन्तलाबाट रु आठ करोड भित्र्याएका थिए । चालु आर्थिक वर्षमा पनि सोही हाराहारीमा आम्दानी हुने अनुमान गरिएको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले माटो परीक्षण तथा चुना वितरण, सुन्तलाको बेर्ना तथा कृषि सामग्री अनुदानमा वितरण, किसानस्तरीय बगैँचा व्यवस्थापन तालिम, सिँचाइका लागि सहयोग, प्राविधिक सेवाहरु उलब्ध गराउँदै आएको छ । गाउँपालिकाले गत वर्ष सुन्तला पकेट क्षेत्र वडा नं ३ स्थित माझ गाउँमा सुन्तला महोत्सव समेत आयोजना गरेको थियो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँका सुन्तला राजमार्गका पसल र विभिन्न सहरमा पुग्ने गरेको भए पनि इच्छाकामनाको हो भन्ने थाहा थिएन, अहिले इच्छाकामनाको सुन्तला खोजी हुन थालेको छ ।”
किसानको उत्पादनलाई बजारीकरणमा सहयोग पु¥याउन गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र र भण्डारणका लागि चिस्यान केन्द्रसमेत निर्माण गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।























