चितवन पुगेर गृहमन्त्रीले भने– रविप्रति कुनै प्रतिशोध छैन, छानबिन समितिको निर्णय कार्यान्वयन गरेका हौँ

चितवन । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति सरकारको कुनै प्रतिशोध नरहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयन गरेको बताए ।
रविप्रति कानुनी रूपमा अनुसन्धान सुरु गरिएको बताउँदै उनले कानुनअनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाएर अनुसन्धान प्रभावित पार्न नहुने बताए । सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने बताउँदै उनले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने बताए । अपराध गर्ने मानिस सबैमाथि अनुसन्धान हुने उनको भनाइ थियो ।
संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्बल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उनले बताए । उनले थपे, “संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु पर्यो । प्रारम्भिक छलफल भएको छ । सबै दललाई समेटेर संविधान संशोधन गर्छौं ।”
यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको दाबी गर्दै उनले भने, “कांग्रेस र एमालेबीचमा सहमति भएको छ, ०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौँ ।” दुई दलबीचमा कुनै समस्या नरहेको उनको भनाइ छ । सरकार परिवर्तन हुने भन्ने हल्ला, हल्ला मात्रै भएको उनले स्पष्ट पारे ।
राष्ट्रिय आवश्यकता र महत्त्वका मुद्दा सम्बोधन गर्न संसद्का ठूला दल मिलेको उनले बताए । फरक प्रसंगमा बोल्दै उनले अहिलेको सरकार सबै जनताको मानव अधिकार रक्षाका लागि सचेत रहेको बताए । मन्त्री लेखकले भने, “प्रत्येक नागरिकको मानव अधिकारको रक्षाप्रति सरकार सचेत छ । चाहे थुनामा रहेको होस्, चाहे हिरासतमा रहेको होस् । सबै नागरिकप्रति मानव अधिकारका विषयमा हामी सचेत छौँ ।”























