बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको पुनः नापजाँच सुरु


बुटवल । औद्योगिक क्षेत्र घोषणा भएर पनि लामो समयदेखि अलपत्र परेको बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको पुनः नापजाँच सुरु भएको छ । राजनीतिक खिचातानी र स्थानीयले खेती गर्दै आएको जग्गामा विवाद भएपछि निर्माणको काम सुरु हुन सकेको थिएन । स्थानीय सरकारको सक्रियतामा विवादरहित सेक्टर ‘बी’ अन्तर्गत बुटवल उपमहानगरपालिका–१७ र १८ को २ सय ३८ बिघा जग्गाको सीमांकन गरेर पुनः नापजाँच गर्न लागिएको हो । सोमबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम वली, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवलका प्रमुख दीपक आचार्य, नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, नापी कार्यालय बुटवलका प्रतिनिधि लगायतको उपस्थितिमा पुनः नापजाँच सुरु गरिएको हो ।
यसअघि पनि मोतिपुर औद्योगिक क्षेत्रको ८ सय ५० बिघा क्षेत्रफलको नापजाँच गरेर सीमांकन गरिएको थियो । अहिलेको नापजाँचबाट नदी उकास क्षेत्र, जोतभोग भएको स्थानीय बस्ती, अन्य सार्वजनिक संघ–संस्था, मठमन्दिर लगायतको जग्गा छुट्याएर बाँकी रहेको जग्गा औद्योगिक क्षेत्र विकासको नाममा छुट्याउने गरी सीमांकन सुरु गरिएको महाप्रबन्धक वलीले बताए । नापजाँचसँगै आईई, ईआईए लगायतका काम पनि हुनेछन् । ‘त्यसपछि नयाँ डीपीआर बनाएर औद्योगिक क्षेत्रको विकास काम अघि बढ्ने छ,’ उनले भने, ‘अहिले विवाद नहुने गरी काम सुरु गर्न लागिएको छ ।’ पहिले विवाद नभएका जग्गाबाट काम सुरु गर्दै विवादित जग्गाहरूमा नयाँ सीमांकन गरिने उनले बताए । यसअघिको डीपीआर अनुसार औद्योगिक क्षेत्रलाई ५ वटा ब्लकमा छुट्याइएको थियो ।
जसमध्ये सेक्टर ‘बी’ को २ सय ३८ बिघासहित सेक्टर ‘डी’को १ सय ९ बिघा र सेक्टर ‘ई’ को ४४ बिघामा विवाद नरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवलका प्रमुख दीपक आचार्यले बताए । सेक्टर ‘डी’मा २ वटा र ‘ई’मा ९ वटा घर मात्र औद्योगिक क्षेत्रको जग्गामा परेका छन् । यसअघि बुटवलको मोतिपुरदेखि तिलोत्तमा, शुद्धोधन र सियारीसम्मको नदी उकास क्षेत्रसहित ९ सय बढी बिघा जग्गामा औद्योगिक क्षेत्र बनाउने संघीय सरकारले घोषणा गरेको थियो । त्यही घोषणा अनुसार सरकारले ८ सय १३ बिघा जग्गा मोतिपुर औद्योगिक क्षेत्र विकास समितिका नाममा ल्याइसकेको छ ।
पुर्जा प्राप्त नभएको १ सय ३३ दशमलव ४६ बिघासहित ९ सय ४६ दशमलव ४६ बिघाको डीपीआर तयार भइसकेको छ । २०७७ फागुन २१ गते तत्कालीन अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेल र तत्कालीन उद्योगमन्त्री लेखराज भट्टले संयुक्त रूपमा औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए । तर, बस्ती र जोतभोगको जग्गासमेत औद्योगिक क्षेत्रमा पारिएको भन्दै स्थानीयले विरोध गर्दै शिलान्यास कार्यक्रम नै अवरोध गरेपछि काम अघि बढ्न सकेको थिएन ।























