देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार दृढ छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
समग्रमा देशमा स्थायी सरकार चाहियो भन्ने मुख्य मुद्दाका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको गृहमन्त्री लेखकको भनाइ थियो । सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशानसन कायम गर्नु रहेको उहाँले उल्लेख गर्नुभयो ।
आर्थिक विकासका गतिविधि अगाडि बढाउने र यो संविधानलाई रक्षा गरेर सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गरेर देशमा दिगो शान्ति स्थापना गर्नु सरकारको जिम्मेवारी रहेको उहाको भनाइ छ । गृहमन्त्री लेखकले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँ जडीबुटी र पर्यटकीय सम्भावनालाई अवसरमा बदल्नुपर्ने बेला आएको बताउनुभयो ।
कर्णाली प्राकृतिक सौन्दर्यताको प्रदेश भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, “सबैभन्दा धेरै विद्युत् उत्पादनको सम्भावना पनि कर्णालीमा छ । यति धेरै सम्भावना छन् भने हामीले कमजोर ठान्नुपर्ने, मन सानो बनाउनुपर्ने भन्दा पनि हाम्रा सम्भावनालाई कसरी अवसरमा बदल्ने भन्नेमा लाग्नुपर्छ ।”
कर्णाली प्रदेशका प्रहरी कार्यालय अहिले पनि नेपालगञ्जबाट चलिरहेको अवस्था रहेको भन्दै उहाँले ती कार्यालय चाँडै सुर्खेत ल्याइने प्रतिबद्धता जनाउनुभयो ।























