समाचार

रारामा भेटियाे कालो चितुवा र लोखर्के

नवलपुर टुडे
२०८१ मंसिर २४ | बिहान ०५:०८ बजे

मुगु । मुगु जिल्लाको रारा राष्ट्रिय निकुञ्जमा पहिलो पटक दुर्लभ कालो चितुवा (मेलानेस्टिक लिओपार्ड) र लोखर्के देखिएका छन्। त्रिभुवन विश्वविद्यालयका शोधकर्ता विद्यार्थीले क्यामेरा ट्र्याप प्रविधिको प्रयोग गरेर यी दुर्लभ जनावरको भिडियो रेकर्ड गर्न सफल भएका हुन्।

रारा राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार, क्यामेरा ट्र्यापमा हिमाली भालु, स्याल, कस्तुरी, बँदेल, लगायतका अन्य जनावर पनि देखिए। तर कालो चितुवा र लोखर्केको उपस्थिति पहिलो पटक पुष्टि भएको छ।

Messenger creation 6A794CDD A500 4FB2 BF06 1C2193B92FAC

निकुञ्जभित्र स्तनधारी जनावरको गतिविधि र विवरण संकलनका लागि ४० स्थानमा २१ दिनसम्म क्यामेरा जडान गरिएको थियो। यो अनुसन्धान त्रिभुवन विश्वविद्यालयका प्राणीशास्त्र केन्द्रीय विभागका विद्यार्थीहरू तिलक थापा मगर, विमलराज श्रेष्ठ, वाचन प्रसाई, र अनुसन्धान टोलीले गरेको हो। सह९प्राध्यापक हरिप्रसाद शर्माको सुपरिवेक्षणमा गरिएको यो अध्ययनले निकुञ्जको जैविक विविधता थप खुलाउन सहयोग पुर्‍याएको छ।

रारा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ। यहाँ ५४ प्रजातिका स्तनधारी जनावर, २९६ प्रजातिका चराचुरुङ्गी, ७ प्रजातिका माछा (जसमध्ये ३ प्रजातिका असला माछा विश्वभरि केवल रारा तालमै पाइन्छन्), १ प्रजातिका उभयचर, १ प्रजातिका घर्षणशील वन्यजन्तु र १०२४ प्रजातिका वनस्पति पाइन्छन्।

वरिष्ठ संरक्षण अधिकृत न्यौपानेका अनुसार, यो अनुसन्धानले संरक्षण प्रयासहरू थप बलियो बनाउनेछ। उनले निकुञ्जको जैविक विविधता अध्ययनका लागि वैज्ञानिक उपकरण र प्रविधिको उपयोगमा जोड दिनु आवश्यक रहेको बताएका छन् ।

नेपालकै ठूलो र गहिरो रारा ताल समेटिएको यो निकुञ्जमा जैविक विविधताको अध्ययन र संरक्षणले निकुञ्जको महत्त्वलाई थप उजागर गर्नेछ। यस प्रकारका अध्ययनले भविष्यमा राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

कमेन्टहरु