राजनीतिक कोर्स बदल्ने बेला आएको छ : अध्यक्ष प्रचण्ड


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक कोर्स बदल्नु पर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्स बदल्न सकिने उनले बताएका छन् । आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उनले अब त्यो बेला आएको तर्क पनि गरे ।
अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद होइन, विज्ञ मन्त्री बन्ने व्यवस्थामा गए मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा राखे । यसका लागि आन्दोलन जरुरी रहेको र आन्दोलन गर्न माओवादी बलियो हुनुपर्नेमा उनको जोड थियो । अरु दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमान्दार माओवादी नै रहेछ भन्ने जनतामा बोध हुँदै जानु निकै महत्वपूर्ण पक्ष रहेको उनको भनाइ थियो ।























