चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन
दिप्शन गुरुङ
२०८१ मंसिर २२ | बिहान ०७:०८ बजे

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामनामा पर्यटन प्रवद्र्धनका साथै स्थानीयको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले
गाउँपालिकाले होमस्टे सञ्चालनमा जोड दिइएको बताए । उनले घुर्केश गाउँमा पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको बताए । होमस्टे प्रवद्र्धन कार्यक्रमले यहाँको पहिचान गुरुङ समुदायको संस्कृति, रीतिरिवाज, रहनसहन, वेशभुषा, आर्थिक आम्दानीलगायतमा टेवा पुर्याउने बताइएको छ । घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ । पूर्व–वडाध्यक्षसमेत रहेका स्थानीय चित्रबहादुर गुरुङका अनुसार यहाँ कृषि बैंकसमेत सञ्चालनमा रहेका थिए । त्यस बेला बैंक सञ्चालन भएको घरलाई अहिले पनि बैंक घर भनेर चिनिन्छ । सोही घरमा पनि अहिले होमस्टे सञ्चालनमा रहेको छ ।
यसअघि भौगोलिक विकटता र प्रचारप्रसार हुन नसक्दा यो गाउँ ओझेलमा परेको उनी बताउछन्। तर अहिले गाउँमा सडक बाटो बनेपछि भने पर्यटक आउन थालेका छन् । इच्छाकामनाको पर्यटकीयस्थलको रुपमा परिचित एतिहासिक उपर्दाङ्गगढी किल्ला र मायाटार नजिकै रहेको घुर्केश गाउँमा होमस्टे सञ्चालनसँगै पर्यटकको आवामगन बृद्धि हुने जनाइएको छ ।


















