कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
दिप्शन गुरुङ
२०८१ मंसिर २१ | मध्यान्ह ०१:०८ बजे

चितवन । चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ ।
स्थानान्तरण गर्नुअघि चितवन कारागारमा आठ सय १९ कैदीबन्दी रहेका थिए । जसमा सात सय ७२ पुरुष र ४७ महिला रहेका थिए । मङ्सिरमा स्थानान्तरण गरिएकामध्ये दुई महिला र ७७ पुरुष रहेको प्रमुख आचार्यले बताए । अहिले कारागार कार्यालयमा सात सय ५६ कैदीबन्दी छन् । जसमा ७०३ पुरुष र ५३ महिला रहेका छन् । उनीहरुसँग आश्रित तीन बालबालिका रहेका छन् ।
दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दी राख्ने भएके चितवन कारागारमा न्यायिक तथा अर्धन्यायिक निकायबाट आउने कैदी तथा बन्दीको सङ्ख्याभन्दा कैद म्याद सकिनेको सङ्ख्या कम भएकाले स्थानान्तरण गर्न बाध्य भएको प्रमुख आचार्यले बताए ।
पछिल्ला दिनमा लागुऔषध सम्बन्धि कैदीबन्दी बढी आउने गरेको उनको भनाइ छ । कारगारमा छिमेकी जिल्ला नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) बाटसमेत कैदीबन्दी आउने हुँदा चाप बढेको हो ।


















