देश

रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, प्रहरी र प्रदर्शनकारी दुबैतर्फ घाइते

दिप्शन गुरुङ
२०८१ मंसिर १९ | मध्यान्ह ०५:०८ बजे

चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।

‘प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुङ्गा हान्दा प्रहरी घाइते भएका हुन्’, प्रहरी उपरीक्षक मिश्रले भने । जिल्ला प्रहरी कार्यालय अगाडि सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले जानकारी दिए ।

प्रदर्शनकारीतर्फ १६ जना घाईते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिए । घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उनले बताए । रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ ।

यहाँको साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उनलाई बयानका लागि मङ्गलबार काठमाडौँबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट रु १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उहाँलाई बयानका लागि चितवन ल्याइएको हो । 

कमेन्टहरु