प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै

धनुषा । कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो ।
यसैबीच मधेश प्रदेशमा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । मधेशका आठवटै जिल्लाबाट गतवर्षको तुलनामा यसवर्ष कूल दुई लाख पाँच हजार २५१ मेट्रिक टन बढी धान उत्पादन हुने मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि प्रसार अधिकृत रोशनकुमार मेहताका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १२ लाख ९६ हजार छ सय सात मेट्रिक टन धान उत्पादन भएको थियो । उनले चालु आर्थिक वर्ष २०८१/८२ मा १५ लाख दुई हजार चार सय ५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको जानकारी दिए ।
गत वर्षभन्दा यस आवमा धान रोपाइँ बढी क्षेत्रफलमा भएको हुँदा उत्पादनमा समेत वृद्धि हुने बताइएको छ । कषि प्रसार अधिकृत मेहताले गत वर्षको तुलनामा यस वर्ष पाँच हजार २६४ दशमलव पाँच हेक्टर क्षेत्रफल बढीमा धानबाली लगाएको जानकारी दिए । आव २०८०/८१ मा तीन लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा धानबाली लगाएको थियो भने चालु आवमा तीन लाख ७५ हजार ६१४ दशमलव पाँच हेक्टर क्षेत्रफलमा धान रोपिएको उहाँले जानकारी दिए ।
धानबाली लगाएको क्षेत्रफल र उत्पादन हुने अनुमान गरिएको आधारमा यस वर्षमा शून्य दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि हुने देखिएको छ । गतवर्ष तीन दशमलव ५० मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो भने यसवर्ष प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
धानबाली रोपेको क्षेत्रफलको हिसाबले सबैभन्दा बढी सप्तरीमा ६५ हजार दुई सय ८० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ भने यहाँ दुई लाख ६१ हजार एक सय २० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । त्यस्तै सबभन्दा कम रौतहटमा ३७ हजार छ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यहाँ रोपिएको धानबालीबाट एक लाख ५० हजार चार सय ८० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवको अनुसार पर्सामा ४६ हजार एक सय ८७ हेक्टर, रौतहटमा ३७ हजार छ सय २० हेक्टर, सर्लाहीमा ४५ हजार पाँच सय ४० हेक्टर, धनुषामा ४१ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको कृषि विकास निर्देशनालयले जनाएको छ । त्यसैगरी महोत्तरीमा ४१ हजार नौ सय ४२ दशमलव पाँच हेक्टर, सिरहामा ५२ हजार ३८० हेक्टर, सप्तरीमा ६५ हजार २८० हेक्टर र बारामा ४५ हजार ९९ दशमलव छ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलबाट १२ लाख ६३ हजार ९४१ मेट्रिक टन र आव ०७९–०८० मा तीन लाख ८१ हजार ६१३ हेक्टरमा १४ लाख २२ हजार ४३६ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसवर्ष खेती लगाउने बेलामा नै वर्षा भएकोले धान रोपाइँ पनि समयमै भएको र त्यसपछि पनि बेलाबेलामा वर्षा भएकाले धान उत्पादनमा वृद्धि भएको उनले बताए।























