धरहराबाट एक सातामै १४ लाख ७० हजार राजस्व संकलन

१७ मंसिर, काठमाडौं । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व संकलन भएको छ । यही मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म १४ लाखभन्दा बढी राजस्व संकलन भएको हो ।
कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताए । ‘९ गतेदेखि हालसम्म आठ हजार तीन सय १६ जनाले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन’, उनले भने, ‘बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा पनि नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गर्न सकिएको छैन ।’
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउनेछन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार शुल्क तोकिएको छ ।
यहाँ पार्किङ गर्दा चार पांग्रेका लागि प्रतिघण्टा २० र दुई पांग्रेलाई १० रुपैयाँ तोकिएको छ । यस्तै, धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार तोकिएको छ । व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार तोकिएको छ ।























