लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा पाँच पदका लागि मतदान सुरु, कस्तो छ माहोल?

नवलपुर टुडे
२०८१ मंसिर १६ | बिहान ०८:०८ बजे

दाङ । लुम्बिनी प्रदेशमा पाँच पदका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको हो । यहाँ ६ पदमा मनोनयन दर्ता गरिएको थियो । जसमध्ये एक स्थानमा निर्विरोध निर्वाचित भएपछि पाँच वटा पदका लागि निर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि एक उपाध्यक्षसहित पाँच वडाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये एक वडा अध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छन् ।

रोल्पाको रून्टीगढी गाउँपालिका- ४ मा वडा अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट भूपमणि पुन मगर, नेकपा एमालेबाट बेगम पुन मगर, नेकपा माओवादी केन्द्रबाट नरेशजंग सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट पहलबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट हिमबहादुर पुन र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगर चुनावी प्रतिस्पर्धामा छन् । यो वडामा यसअघि कांग्रेसका टंकबहादुर पुन निर्वाचित भएका थिए । उनको उपचार क्रममा काठमाडौँमा मृत्यु भएको थियो ।

रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि सात जना प्रतिस्पर्धामा छन् । कांग्रेसको चुनाह चिन्हबाट एमालेकी केशकुमारी तुलाचन, माओवादी केन्द्रबाट नरपुरा बुढा, नेकपा (एकीकृत मार्कसवादी लेनिनवादी)बाट सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (बिक) चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसको रुख चिह्नबाट चुनाव लड्ने गरी उम्मेदवार बनेकी तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन् ।

election rukum
रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष चयनका लाग लुम्बिनी प्रदेश सांसद दिलकुमारी बुढामगरले मत खसालेर यहाँ मतदान कार्य सुरु भएको छ ।

गत स्थानीय तह निर्वाचनमा यहाँ माओवादी केन्द्रकी भुपेन्द्रा बुढा निर्वाचित भएकी थिइन् । उनको भदौ २८ गते सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका- २ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । यहाँ वडा अध्यक्ष चयनकालागि मतदान हुनेछैन । वडा अध्यक्ष पदमा जगत घर्ती (काजु) निर्विरोध निर्वाचित भएका हुन् । कांग्रेस र एमालेको तर्फबाट उम्मेदवारी दिएकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध भएको घोषणा गरिएको थियो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका- ४ को वडाध्यक्ष पदका लागि ६ दलका उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसबाट अमिन थारू, माओवादी केन्द्रबाट शेरबहादुर थारू, नागरिक उन्मुक्ति पार्टीबाट प्रीतिलाल थारू, राप्रपाबाट रत्नबहादुर शाही,रास्वपाबाट वासुदेव शर्मा र नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट विष्णुप्रसाद देवकोटा प्रतिस्पर्धामा छन् ।

यो वडामा यसअघि कांग्रेसका सूर्यबहादुर बिष्ट निर्वाचित भएका थिए । उनी जिल्ला पार्टी सभापति भएपछि कार्यवाहक वडाध्यक्ष अमिन थारूलाई दिएका थिए । अमिन थारूले केही समयअघि कार्यवाहक वडाध्यक्ष पदबाट राजीनामा दिएर अहिले फेरि वडाध्यक्ष पदका लागि उम्मेदवार बनेका हुन् ।

गुल्मीको मुसिकोट नगरपालिका- १ को वडाध्यक्ष पदका लागि तीन स्वतन्त्रसहित आठ जनाले चुनावी दौडमा छन् । कांग्रेसबाट आनन्द श्रेष्ठ, एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, रास्वपाबाट विकास थापा, राप्रपाबाट ईश्वरी खाती क्षेत्री, स्वतन्त्र रूपमा कुलबहादुर थापा, योगेन्द्र खरेल र पोमानन्द खरेलले चुनावी मैदानमा छन् । यसअघि यहाँ नेपाली कांग्रेसका मोहन घिमिरे निर्वाचित भएका थिए । उनले आत्महत्या गरेपछि रिक्त स्थानमा पुनः निर्वाचन हुन लागेको हो । कपिलवस्तुको शुद्धोधन गाउँपालिका- १ को वडाध्यक्ष पदका लागि १४ जना मैदानमा छन् ।

election gulmi1

कांग्रेसबाट दिनेशकुमार यादव, माओवादी केन्द्रबाट रफि मोहम्मद मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अवधेशकुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इनताज मोहमद धोबी, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर कुर्मी चौधरी, जनमत पार्टीबाट सीताराम पटेल कुर्मी, नागरिक उन्मुक्ति पार्टीबाट सूर्यकुमारी चौधरी थारू, जनता समाजवादी पार्टीबाट रमेशकुमार पाण्डे, नेकपा (एकीकृत समाजवादी) बाट सुब्बा थारू र नेकपा (एकीकृत मार्कसवादी लेनिनवादी) बाट मोहम्मद ताहिर मुसलमान चुनावी मैदानमा छन् ।

यहाँ स्वतन्त्र रूपमा अब्दुल मुयिद, अब्दुल अब्बल फकिर, पुजारी थारू, सर्वजित मल्लाह गरी चार जना चुनवी दौडमा छन् । यसअघि यहाँ कांग्रेसका तिलकराम यादव निर्वाचित भएका थिए । उनको ब्रेनट्युमरका कारण मृत्यु भएको थियो ।

कमेन्टहरु