गढी–६ मा उपनिर्वाचन, मतदाता आफ्नै काममा व्यस्त

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ की ३० वर्षीया ममता साह खेतमा धान काट्दै थिइन् । विभिन्न पार्टीका नेता मत माग्नका निम्ति घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त थिइन् ।
उनीजस्तै गढी–६ कै ५० वर्षीया रोना साह धान काट्नमा नै व्यस्त थिइन् । यही मंसिर १६ गते गढी–६ मा वडाध्यक्ष पदका निम्ति हुने उपनिर्वाचनका विषयमा उनलाई खासै मतलब थिएन । उनीहरू गढी–६ का प्रतिनिधि पात्र मात्र हुन् ।
मतदाता घरमा नभेटिँदा चुनावी प्रचारप्रसारमा हिँड्ने उमेदवार र नेतालाई समस्या भएको छ । कसको पक्षमा नतिजा जान्छ भन्ने ठम्म्याउन पनि कठिन भएको छ ।
गत चुनावमा नेकपा (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले ४२४ मत ल्याएर दोस्रो स्थान ओगटेका थिए । नेपाली कांग्रेसका तिलेश्वर चौधरी ४१६ मतका साथ तेस्रो स्थानमा थिए ।
जनता समाजवादी पार्टीको साथ पाएको माओवादी केन्द्र यसपटक जसरी भए पनि गढी–६ मा जित निकाल्ने कसरतमा छ । गढी–६ मा यसपटक माओवादी केन्द्रबाट कुशेश्वर खेरवार, कांग्रेसबाट तेतर साह र एमालेबाट सन्तु उराँव चुनावी मैदानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविताकुमारी उराँव, जनमत पार्टीबाट सीताराम यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशीकुमार साह चुनावी मैदानमा उत्रिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार, उक्त वडामा एक हजार ८७३ पुरुष र एक हजार ७४९ महिला मतदाता छन् ।























