अपराध

कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यक्ति पक्राउ

दिप्शन गुरुङ
२०८१ मंसिर १० | मध्यान्ह ०१:०८ बजे

धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तु । कपिलवस्तु जिल्लामा प्रहरीले पाटेबाघको छालासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको टोलीले शिवराज नगरपालिका–२ हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजको परिसरबाट उक्त व्यक्तिलाई पक्राउ गरेको हो।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, गोलपार्क निवासी ४१ वर्षीय वसन्तप्रसाद भट्टराईलाई शंकास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा उनको साथमा रहेको सेतो प्लास्टिकको बोराभित्र लुकाइएको अवस्थामा पाटेबाघको छाला फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भट्टराईसँग बरामद गरिएको पाटेबाघको छालाको लम्बाई ६ फिट रहेको छ भने पुच्छरको लम्बाई २ फिट २ इन्च रहेको प्रहरीले जनाएको छ। छालामा गोली लागेको जस्तो देखिने तीनवटा प्वाल पनि भेटिएको छ। उक्त छालाका साथै भट्टराईको नाममा रहेको लु ५८ प ९७५५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। पक्राउ परेका भट्टराईलाई थप अनुसन्धान तथा कारबाहीका लागि मंसिर १० गते डिभिजन वन कार्यालय, चन्द्रौटा, कपिलवस्तु पठाइएको छ जिल्ला प्रहरी कार्यलयका प्रवक्ता मोहनमणी अधिकारीले जनाएका छन ।

कमेन्टहरु