निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

स्वामीकार्तिक उप निर्वाचनमा दुई जनाले उमेदवारी लिए फिर्ता

उमेश रोकाया
२०८१ मंसिर ६ | बिहान ०१:०८ बजे

बाजुरा, मंसिर ०६। मंसिर १६ गते हुन लागेको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका दुई जनाले फिर्ता लिएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी वि.क. र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की उम्मेदवार सुनादेवी थापा भोटे(धामी)ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिएका छन् । 

गाउँपालिकामा रित्त रहेको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका भएपनि आज अन्तिम समयमा नेकपा माओवादी र राप्रपाकी उम्मेदवारले फिर्ता लिएको बताए । २०७९ स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट उम्मेदवार बनेर निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि उक्त गाउँपालिकामा उप निर्वाचन हुन लागेको हो । रिक्त रहेको गाउँपालिकाको उपाध्यक्षका लागि सत्तारुढ दल नेपाली काँग्रेस,नेकपा एमाले र नेकपा एकिकृत समाजवादी चुनावी प्रतिष्पर्धा हुने भएको छ । 
२०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसकी मैनादेवी जोशीले एक हजार ८१० मत ल्याउदै उनकी प्रतिद्धन्द्धी नेकपा एमालेकी सुलोचना  कुमारी भण्डारीलाई पराजित गरेकी थिइन् ।  पराजित भण्डारी नेकपा एमालेबाट पुनः रिक्त रहेको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् ।

गाउँपालिकामा हुने उप निर्वाचनमा  हाल ९ मतदान स्थल र सात हजार ४६० मतदाता रहेका छन्,तिमध्ये चार हजार ६८ पुरुष र तीन हजार ३९२ महिला मतदाता संख्या रहेका छन् ।
मनोनयन दर्ता गराएका तीन दलका उम्मेदवारलाई आज नै  दलको चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कमेन्टहरु