प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव

कास्की । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ ।
प्रस्तावित उक्त अस्पतालबाट परम्परागत चिनियाँ उपचार, आयुर्वेद चिकित्सा जस्ता सेवासमेत उपलब्ध गराउने उद्देश्य लिइएको मन्त्री पाठकले बताए । पछिल्लो समय मुटु, मिर्गौला, क्यान्सर जस्ता रोगको बिरामीको सङ्ख्या बढ्दै गएकाले यी रोगको उपचारका लागि जिल्ला अस्पतालको रिफरल अस्पतालका रुपमा एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणको योजना अगाडि बढाइएको उनको भनाइ छ ।
मन्त्री पाठकले केही समयअघि प्रधानमन्त्री ओलीलाई भेटी कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको २०० रोपनी जग्गा सोही अस्पताल निर्माण प्रयोजनका लागि प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरेका थिए ।
प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा विशिष्टीकृत अस्पतालको योजना समेटिँदै आए पनि जग्गा र बजेट अभावका कारण कार्यान्वयनमा आउन सकेको छैन । “प्रधानमन्त्रीसमक्ष जग्गा व्यवस्थापनलगायत विभिन्न १२ वटा माग मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, उनले बताए ।
जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पताल अत्यावश्यक रहेको मन्त्री पाठकले बताए । स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उनले बताए ।























