कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

प्रथम बडीमालिका कोदो दिवस २०८१ सम्पन्न

उमेश रोकाया
२०८१ मंसिर २ | बिहान ०३:०८ बजे

बाजुरा, मंसिर ०२। सदरमुकाम मार्तडीमा कोदो दिवस भब्यताका साथ सम्पन्न भएको छ । बडीमालिका नगरपालिका कृषि विकाश शाखाको आयोजनामा सञ्चालन भएको “प्रथम बडीमालिका कोदो दिवस” २०८१ सम्पन्न भएको हो । नगरपालिकाको आर्थिक बर्ष २०८१-०८२ को नीति तथा कार्यक्रममा स्थानिय बाली कोदोको प्रबर्द्धन, प्रचार र कृषकहरूलाई कोदो बाली प्रति आकर्षित गर्न हरेक बर्षको मङ्गिर १ गते कोदो दिवस बनाउने नीति बनाईए अनुसार मंसिर १ गते पहिलो पटक “प्रथम बडीमालिका कोदो दिवस”२०८१ मनाइएको बडीमालिका नगरपालिकाका नगर प्रबक्ता धर्मराज पाध्यायले बताए ।

शनिबार एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका भुमि ब्यबस्था तथा कृषि सहकारी मन्त्री बीरबहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त दिवस भव्यताका साथ सम्पन्न भएको हो । कोदो उत्पादनमा वृद्धि, बडीमालिकाको समृद्धि’ भन्ने मुल नाराका साथ नगरपालिकाले प्रथम बडीमालिका कोदो दिवस २०८१ को आयोजना गरेर भव्यताका साथ सम्पन्न गरेको बडीमालिका ७ का वडाअध्यक्ष तथा नगरप्रबक्ता धर्मराज पाध्यायले बताए ।

प्रबक्ता पाध्यायका अनुसार नगरपालिकाको कृषि विकाश शाखाको आयोजनामा “कोदो उत्पादनमा बृद्धि,बडीमालिकाको समृद्धि”भन्ने मुल नाराका साथ पहिलो पल्ट कोदो दिवस मनाइएको बताए । बडीमालिका भित्र कोदोको उत्पादनमा बृद्धि गर्ने उदेश्यका साथ पालिकाको निति तथा कार्यक्रम अनुरुप दिवस मनाइएको पाध्यायको भनाई रहेको छ । पालिका भित्र उत्पादन गरिएको रैथाने बाली कोदोको प्रबर्द्धन तथा प्रचार–प्रसार गर्न तथा पालिका भित्र कोदो खेती गरिरहेका कृषकहरुलाई कार्यक्रम मार्फत थप कोदो खेति तर्फ आकर्षित गर्नको लागी उक्त दिवस सञ्चालन गरीएको नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्काले बताए ।

पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मानिएको कोदोको उत्पादन,बृद्धि तथा प्रबर्द्धन गर्नका निमित्त नगरपालिकाले नीति कार्यक्रममा हरेक बर्षको मंसिर १ गते कोदो दिवस सञ्चालन गर्ने निति बनाएसंगै नगरपालिकाका ९ वटै वडामा उत्पादित कोदोको बजारिकरण,त्यसको प्रचार–प्रसार गर्न बडिमालिका नगरपालिकाले मंसिर १ गते पहिलो पटक कोदो दिवस मनाएको नगर प्रमुख खड्काले बताएका छन् । नगरपालिकाका ९ वटै वडामा उत्पादन गरिएको कोदोका बिभिन्न परिकार,ओखलमा फलेको कोदोको प्रर्दशन,नफलेको कोदो प्रर्दशन,कोदोको झुप्पा सहित प्रर्दशन,कोदोको स्थानीय परिकार रोटी,ढिडो,माडा लगायत प्रर्दशनी गरिएका थिए ।

त्यस्तै दिवसमा “कोदो उत्पादनमा बृद्धि,बडीमालिकाको समृद्धि” भन्ने नाराका साथ मा.वि स्तरीय बक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरिएको थियो भने “रैथाने तथा कोदो बालीलाई उत्पादनमा बृद्धि,संरक्षण,प्रशोधन र बजारीकरण ”भन्ने नाराका साथ वडा स्तरीय देउडा प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । प्रत्येक बिधामा उत्कृष्ट हुने सहभागीहरुलाई उचित पुरस्कार समेत प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

कोदो दिवसले थप किशानलाई कोदो खेतीतर्फ आर्कषित गर्न सहयोग मिल्ने बिश्वास आफुले लिएको बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । बडीमालिकाका ९ वटै वडाका कृषकहरुलाई कोदो खेती तर्फ थप आर्कषित गर्नको लागी पहिलो पटक कोदो दिवस मनाइएको र यस दिवस मार्फत कृषकहरुमा केही प्रभाव पर्ने बिश्वास रहेको थापाले बताईन् । पालिका भित्रका धेरै ठाउँमा कोदो खेति राम्रो हुने हुँदा अझै उक्त बालीको प्रबर्द्धन तथा प्रचार गर्न पालिकाको निति कार्यक्रम अनुरुप कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो ।

देशको तराईदेखि ३ हजार मिटरको उचाइसम्म उत्पादन हुने यो बाली पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मान्न सकिने र यस बालीबाट क्याल्सियम, आइरन, प्रोटिन, खनिज लगायतका पौष्टिक युक्त औषधीय गुण पाइने हुँदा कोदो स्वास्थ्यको लागी निकै राम्रो ठानिने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । बालबालिका, गर्भवती, मधुमेह, रक्तचाप लगाएतका बिरामीहरुका लागि निकै उपयोगी मानीने कोदो खेतीलाई थप पर्बद्धन गर्न निकै आबश्यक रहेको बक्ताहरुको भनाई थियो । मकैमा भन्दा ३५ गुणा र गहुंमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम कोदोमा पाइने गरेको छ । यसैगरी चामलमा भन्दा २.३ गुणा, मकैमा भन्दा ३.७ गुणा र गहुँमा भन्दा १.५ गुणा बढी फलाम तत्व कोदोमा पाईने गरेको छ ।जसले गर्दा मानिसको शरिरलाई चाहिने आबश्यक पौष्टिक तत्व कोदो बाट पनि प्राप्त गर्न सकिन्छ ।

नगरपालिकाको सदरमुकाम ८,९ मार्तडी, ७ को ढम्कने,रजातोली, जिल्ली ,सिराडि,चुथि,त्यस्तै वडा नम्वर २ जुगाडा,भौनेरा,माझिगाउँ १ को पिनालेख,सल्याना,पाटा ३ को रजाली,४ को रिला, ५ को मना ६ को कोर्ध,लगायतका ठाउँमा कोदोको बढिजसो खेति गर्ने गरिन्छ । पालिका भित्रै कृषकहरुले उत्पादन गरेको परम्परागत रैथाने बाली कोदोको प्रबर्द्धन गर्न पालिकाले पहिलो पटक पालिकाको निति कार्यक्रम अनुसार कोदो दिवस मनाएको थिाये । दिवसमा प्रत्येक वडाबाट कृषहरुले कोदोबाट बनेका बिभिन्न परिकारहरुको पर्दशनी गरेका थिए । दिवसको अवसरमा मालिका माविको सांस्कृतिक नाच, नगरका ९ वटै वडाका देउडा प्रस्तुति समेत प्रर्दशनी गरिएको थियो ।

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा संचालन भएको कोदो दिवसको सुदूरपश्चिम प्रदेशका कृषि, भुमि तथा सहकारी मन्त्री बीरबहादुर थापा प्रमुख अतिथि रहेका थिए ।कार्यक्रममा सुदूरपश्चि प्रदेश सभा सदस्य जुना दानी, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या लगायत विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा नगरपालिकाका १ देख ९ सम्मका वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारी,जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि,पत्रकार लगायत स्थानीय कृषकहरुको सहभागिता रहेको थियो ।

खाद्य संस्थान नजिकै रहेको कोल्ड स्टोर तथा कृषि बजारमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन बडीमालिका नगरपालिका कृषि विकास शाखाका प्राविधिक सहायक रमेश विकले गरेका थिए ।

कमेन्टहरु