धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री

पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्नेमा जोड दिएका छन् ।
बौद्ध विहार संघ, ललितपुरको शनिबार अक्षश्वर महाविहारमा आयोजित ४९औँ वार्षिकोत्सव तथा स्वर्णजयन्ती वर्ष शुभारम्भ कार्यक्रममा उनले धर्मनिरपेक्ष नेपालमा सबैलाई स्वतन्त्रतापूर्वक आफ्नो आस्थाअनुसार धर्ममा लाग्ने अधिकार रहेको तर यसलाई राजनीतिका रूपमा स्वीकार्य गर्न नसकिने दोहोर्याए ।
पाँच वर्षअघि भियतनाममा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आफूले भाग लिएको उनले उल्लेख गरे । त्यस्ता सम्मेलन संयुक्त राष्ट्रसंघको आयोजनामा नेपालमा गर्ने कुराकानी भएका बेला कोरोना महामारीले असर गरेको उनले बताए । उनले लुम्बिनीमा आफूले पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण गराएको स्मरण समेत गरे ।
बौद्ध विहार संघ, ललितपुरका अध्यक्ष नानीकाजी शाक्यले पुर्खाहरूले सिर्जना गरेको बौद्ध धर्मसम्बन्धी सम्पदाले पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान दिएको बताए । बौद्ध विहार संघको स्थापना ०३२ साल मंसिर १ गते भएको हो ।























