करका लक्ष्य पूरा गर्न इमान्दारीपूर्वक काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउन नहुने बताए ।
असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व संकलन हुन नसक्ने भन्दै अर्थमन्त्री पौडेलले बताए । प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्नेमा उनको जोड छ ।
राज्यलाई कर तिर्नु भनेको हरेक नागरिकको कर्तव्य मात्र नभई गौरवको विषय रहेको उनको भनाइ छ । “करदाता र कर प्रशासनबीच सोहार्दपूर्ण वातावरण बनाउन आवश्यक छ । कर प्रशासनले करदातालाई अनुचित ढंगले दुःख दिनु हुँदैन”, उनले भने ।























