कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल

बाकु (अजरबैजान) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय बैठकमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ ।
नेपालले यसरी हिमालका विषय प्रत्येक कोपमा छलफल होस् भनी माग राखेको थियो । नेपालको उक्त प्रस्तावमा भुटान, तान्जानियालगायत राष्ट्रले समर्थन गरेका थिए ।
यसैगरी वन मन्त्री शाही र संयुक्त अधिराज्य बेलायतका जलवायु परिवर्तनसम्बन्धी मन्त्री केरी एमसिक्याथ्रीबीच भेटवार्ता भएको छ । सम्मेलनस्थलमा कार्बन ट्रेडसम्बन्धी कार्यक्रमपछि उनीहरुबीच भएको संक्षिप्त भेटवार्तामा मन्त्री शाहीले जलवायु परिवर्तनका असर र त्यसको न्यूनीकरणमा सहयोगलगायत विषयमा धारणा राखेका थिए ।
मन्त्री शाहीले यसअघि उक्त कार्यक्रममा कार्बन व्यापार प्रवर्द्धनका लागि नेपाल सरकारले नीतिगत, कानुनी र संरचनागत सुधारको प्रयास गरिरहेको र वातावरण नियमावली संशोधन, ‘लिफ कोलिजन’ सम्झौता अन्तिम चरणमा रहेको नीतिविज्ञ प्रताप पौडेलले जानकारी गराए ।
कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरु भेला भई आफ्ना धारणा व्यक्त गरेका थिए।
उच्चस्तरीय सत्रमा ८० देशका सरकार तथा राष्ट्र प्रमुखले सहभागिता जनाई सम्बोधन गर्नुभएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।























