मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि

बुढीनन्दा र जगन्नाथमा हुलाक कार्यालय स्थापना

उमेश रोकाया
२०८१ कार्तिक ३० | मध्यान्ह १०:०७ बजे

बाजुरा, कार्तिक ३०। बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । आज एक कार्यक्रमका बिच बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा हुलाक कार्यालयको स्थापना गरिएको जिल्ला हुलाक कार्यालय बाजुराका प्रमुख बुद्ध सोमैले बताए ।बुढीनन्दा नगरपालिकामा बुढीनन्दाका नगर प्रमुख जनक कुमार बोहरा र जगन्नाथ गाउँपालिकामा गाउँपालिका अध्यक्ष कालीबहादुर शाही द्धारा हुलाक कार्यालयहरुको उद्धघाटन गरिएको सोमैले जानकारी दिए ।

सरकारको हुलाक सेवालाई पुनः संरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा बाजुरामा पनि कार्यान्वयन सुरु गरिएको हो । जिल्लाको खप्तड छेडेदह,बुढीगंगा नगरपालिका,त्रिबेणी नगरपालिका र गौमुल गाउँपालिकामा हुलाक कार्यलय स्थापना गरि सञ्चालनमा आए संगै शुक्रबार जिल्लाको बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा हुलाक कार्यालयको स्थापना गरिएको सोमैले बताएका छन् ।

सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीति बमोजिम कार्यालय सञ्चालनमा ल्याईएको सोमैको भनाई छ । बाँकी रहेका पालिकाहरुमा पनि हुलाक कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइने उनले बताए । हुलाकलाई सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली अनुसार सेवा सुरु गरिएको सोमैको भनाई छ ।त्यस्तै बाँकी रहेका स्वामिकार्तिक गाउँपालिकामा र हिमाली गाउँपालिकामा आइतबार कार्यालयको स्थापना गरिने सोमैले बताए ।

सरकारले आर्थिक वर्ष २०८१-०८२ मा ल्याएको निती तथा कार्यक्रम अनुसार एक पालिका एक हुलाक कार्यक्रम अन्तर्गत संचार तथा सूचना प्रविधी तथा जिल्ला हुलाक कार्यालय बाजुराले जिल्लाका ९ वटै पालिकामा हुलाक कार्यालय स्थापना कार्य थालेको हो । साविकका इलाका कार्यालयलाई रुपान्तरण गर्दै सरकारको निती तथा कार्यक्रम अनुरुप पालिकास्तरमा हुलाक कार्यालय स्थापना गरी संचालनमा ल्याउने कार्य भईरहेको जिल्ला हुलाक कार्यालय बाजुराले जनाएको छ ।

कमेन्टहरु